टोकियो (जापान), १७ पौष(बीबीसी) । टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेको जापान एअरलाइन्सको जेट ठोक्किएको जापान तट रक्षक निकाय (कोस्ट गार्ड) को विमानमा रहेका पाँचजनाको मृत्यु भएको छ।
त्यसमा सवार मानिसहरूको मृत्यु पुष्टि गर्दै प्रधानमन्त्री फुमिओ किशिदाले उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
जापान एअरलाइन्सको यात्रुवाहक विमान अवतरण गरेलगत्तै कोस्टगार्डको मालवाहक विमानसँग ठोक्किएको थियो।
कोस्टगार्डको सो विमान सोमवारको भूकम्पका पीडितलाई सहायता सामग्री पुर्याउन नोतो प्रायद्वीपको निगाता विमानस्थलतर्फ जाने क्रममा रहेको जनाइएको छ।
त्यसअघि जापानको प्रसारक एनएचकेले देखाएको भिडिओ फुटेजमा जापान एअरलाइन्सको झ्याल र तलपट्टिबाट आएको देखिन्छ।

विमानबाट यात्रुहरू छिटोछिटो निस्किरहेको पनि देखिएको थियो।
घटनापछि विमानस्थलका सबै धावनमार्ग बन्द गरिएका छन्।
एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३ सय ७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।
जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार ठोक्किएको तटरक्षक निकायको सानो विमानबाट एक व्यक्ति बाहिर निस्किन सफल भएका थिए।
उनी गम्भीर घाइते रहेको बताइएको छ।

विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ। दुई घण्टा भन्दाबढि समयसम्म जापान एअरलाइन्सको विमान र त्यसको भग्नावशेषमा आगो लागेको थियो ।
घटनापछि उक्त विमानस्थल बन्द गरिएको अधिकारीहरूले बताएका छन्।
छिटोमा मङ्गलवार नै वा बुधवारसम्ममा विमानस्थल खुला हुने त्यहाँका यातायात मन्त्रीले बताएका छन्
घटनाबारे हामीलाई के थाहा छ ?
धावनमार्गमा आगो निभाउन दर्जनौँ अग्निनियन्त्रकहरू खटिएका छन्
एअरबस ए ३५० जेट विमान उत्तरी जापानको होकाइदोबाट आएको जापान एअरलाइन्सका प्रवक्ताले बताएका छन्।

चालक दलको प्रशंसा
यूकेको क्रानफिल्ड युनिभर्सिटीमा यातायात प्रणाली सम्बन्धी निर्देशक प्राध्यापक ग्राहम ब्राथवेटले विमानमा रहेका चालक दल र पाइलटहरूले गरेका कामको प्रसंशा गर्नुभएको छ।
उहाँले बीबीसीसँग भन्नुभयो , “यातायात सुरक्षाको क्षेत्रमा जापानको प्रशंसनीय विगत छ। ”
उहाँले हवाई सुरक्षाको क्षेत्रमा जापान एअरलाइन्स विश्वकै अग्रणीरहेको बताउँनुभयो,”उद्धार कार्य सफल भएको छ र चालक दललाई प्रशिक्षित गर्नमा कति धेरै मिहिनेत गरिएको छ भन्ने समेत यसले सम्झाउँछ । उनीहरूको ध्यान सुरक्षामा केन्द्रित छ। विमानबाट उद्धार हुनेमा उनीहरू अन्तिममा थिए, उनीहरूले गज्जबको काम गरेको देखिन्छ।”


















