काठमाडौं, १८ पौष। नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) बीच नेपालमा अमेरिकी लगानी अभिवृद्धि गर्न सहकार्य गर्ने समझदारी भएको छ।
सीएनआई र एमच्यामले मंगलबार काठमाडौंमा एक समारोहबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।
समझदारीपत्रमा नेपाल र अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने पनि भनिएको छ।
नेपाल र अमेरिकाका उद्यमीबीच सम्पर्क बिन्दुको रूपमा काम गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई आवश्यक जानकारी दिने, पारस्परिक उद्देश्य पूरा गर्न नीतिगत सुधारको वकालतका गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्ने समझदारी भएको सीएनआईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सीएनआईका अध्यक्ष अग्रवालले यो समझदारीले नेपाल र अमेरिकालाई व्यावसायिक रुपमा जोड्न पुलको काम गर्ने बताउनुभएको छ ।


















