तेहरान(इरान), १८ पौष(बीबीसी) । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा १ सय ३ जनाको मारिएको सरकारी मिडियाले बताएको छ ।
आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले भनेको छ, “आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर १ सय ३ पुगेको छ ।” बम विस्फोटमा अन्य १ सय ४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
इरानमा बुधबार रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको सन् २०२० मा भएको हत्याको वार्षिकी मनाउने भीडमा लगातार दुई वटा विस्फोट भएको थियो ।
विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो ।
सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ ।
सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गर्नुभएको थियो ।
उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । उहाँ बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा मारिनुभएको थियो । उहाँ इरानमा सम्मानित व्यक्ति हुनुहुन्थ्यो ।


















