Prakash Adhikari January 4, 2024

 

काठमाडौं, १९ पौष । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत भारतले किन्ने विषयमा दुई देशबीच हस्ताक्षर सम्पन्न भएको छ ।

भारतीय विदेशी मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने गरी नेपाल र भारतबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उर्जा मन्त्री शक्ति बस्नेतको उपस्थतिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र भारतीय ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै भारतका सरकारी तथा निजी क्षेत्रले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा नेपालको विद्युत् खरिद गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठमा गरेको भारत भ्रमणका क्रममा १० बर्षमा १० हजार मेगावाट विद्युत किनबेचको सैद्धान्तिक सहमति भएको थियो ।

भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ ।

नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा नै दुई देशका प्रधानमन्त्रीले बिजुली निर्यातका विषयलाई ऐतिहासिक र महत्वपूर्ण भएको टिप्पणी गर्नुभएको थियो ।

Share Now