काठमाडौँ, २० पौष। नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दुई दिवसीय भ्रमणमा नेपाल आउनुभएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर आज अपरान्ह स्वदेश फर्कदै हुनुुुहुन्छ ।
उहाँले नेपालमा रहदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले( का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग अलगअलग भेट गर्नुभयो भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसंग सामूहिक भेट गर्नुभएको थियो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै ओलीसँगको भेटको अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभएको छ ।
अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गर्नुभएको थियो ।
“भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले भन्नुभयो।
भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करसंग भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ । नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको उहाँले उल्लेख गर्नुभएको छ ।
त्यस्तै मधेश केन्द्रित दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र डा.सि.के. राउतसंगको भेटमा नेपाल र भारतको द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
उहाँले परराष्ट्रमन्त्री एनपी साउद र ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतसंग पनि भेटवार्ता गर्नुभएको थियो ।
आज बिहान पशुपतिनाथको दर्शन र भारतीय सहयोगमा बनेका केही परियोजनाको अवलोकन भ्रमणपछि भारतका विशिष्ट पाहुना आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


















