काठमाडौँ, २३ पौष । सत्ता साझेदारी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीबाट दिने उम्मेद्वारको नाम चयन गरेको छ ।
रातभर बसेको संसदीय बोर्ड र कार्यसम्पादन समितिले आज बिहान मात्रै उम्मेदवार टुङ्ग्याएको हो । सत्ता गठबन्धनको भागवण्डामा राष्ट्रिय सभाका निर्वाचन हुने १९ सिट मध्ये कांग्रेसको भागमा परेको १० सिट परेको छ ।
१० मध्ये सभापति शेरबहादुर देउवा समूहका ६ जनाले टिकट पाएका छन् । त्यस्तै शेखर कोइराला समूहका ४ जनाले टिकट पाएका छन् ।
कोसी प्रदेशमा कृष्णप्रसाद सिटौला र मधेश प्रदेशमा आनन्दप्रसाद ढुंगानालाई टिकट दिइएको छ । त्यस्तै बागमती विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई टिकट दिइएको छ ।
गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाउनुभएको छ भने लुम्बिनीमा विष्णुदेवी सापकोटाले टिकट पाउनुभएको छ ।
त्यसैगरी कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई टिकट दिइएको छ ।
बागमतीकी पुडासैनी, लुम्बिनीका सापकोटा, गण्डकीका श्रेष्ठ र परियारले शेखर समूहमा हुनुहुन्छ । त्यस्तै कोशीका सिटौला, मधेशका ढुंगाना, बागमतीका बस्नेत, कर्णालीका रोकाया, सुदूरपश्चिमका भट्ट र बोहराले देउवा समूहको प्रतिनिधित्व गर्नुहुन्छ ।


















