Prakash Adhikari January 9, 2024

काठमाडौं, २४ पौष। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आज अकास्मात राजीनामा दिनुभएको छ ।

खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाउनुभएको हो ।

नेपालको दूरसञ्चार क्षेत्रलाई नियमन गर्ने निकायको रुपमा स्थापित दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोषमा ठूलो रकम रहेको छ । सो रकममा विभागीय मन्त्रीदेखि प्रशासनिक निकायका प्रमुखहरुको आँखा लाग्दै आएको छ।

राजिनामा दिनुभएका अध्यक्ष खनालको कार्यकालमा ग्रामीण दूरसञ्चार कोषबाट थालिएका मध्यपहाडी राजमार्ग सूचना महामार्गसम्बन्धी काम ठेकेदारको विवादले रोकिन गएका थिए ।

नेपाल सरकारलाई राजश्व उठाउने नाममा खनालले तस्करीबाट मोबाइल आयात हुन नदिन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गराउनुभएको थियो । तर प्राविधिक उपकरणहरु जडान नगरिकन एमडीएमएस लागू गरिएको र उपकरणहरु आउन ढिलाई भएकोले यो प्रकरण पनि विवादमा तानिन गयो । यसै त सञ्चार उपकरणको व्यापार गर्ने साहुजीहरुको सीधा सम्बन्ध सरकारका प्रमुख र प्रशासन प्रमुखसंग रहेको टिप्पणी सार्वजनिक भैरहेको बेलामा मोबाइल फोन दर्ता नगरी चल्न नसक्ने नियम कार्यान्वयनमा ल्याएपछि अवैध आयातकर्ता व्यापारीहरुको उहाँ तारो नै बन्नुभएको थियो ।

टेरामक्सलगायतका प्रणाली खरिदलाई समेत उहाँले टुंगोमा पुर्याउन सक्नुभएन । मोबाइल र इन्टरनेट सेवा प्रदायकहरुले वास्तविक उपयोग गरेको समय र त्यसबाट उठेको महसूलको सही हिसाब गर्ने यो प्रविधि ल्याएर कार्यान्वयन गर्ने कार्यमा दूरसञ्चार अपरेटरहरु नै भित्रभित्रै सक्रिय भए ।

यसबाहेक स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत विषयमा प्राधिकरण नेतृत्वको क्षमतामा प्रश्न उठन थालेपछि उहाँ उपयुक्त समयमा बहिर्गमन गर्ने खोजीमा हुनुहुन्थ्यो ।

मंगलबार बिहान मन्त्रालयमा गएर उहाँले राजीनामा बुझाउनुभयो ।

२०७६ साउन ९ गते प्राधिकरणको अध्यक्ष हुनुभएका खनालको कार्यकाल आगामी साउनसम्म रहेको थियो ।

संसदको सार्वजनिक लेखा समितिले टेरामक्स उपकरण खरिद प्रक्रियामा अनियमितता देखिएको भन्दै यसमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेपछि उहाँ बाँकी समय काम गर्न नसकिने निर्णयमा पुग्नुभएको बताइन्छ ।

कतिपयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको चर्को दबावले अध्यक्ष पुरुषोत्तम खनालले पदत्याग गर्नुभएको बताए पनि उहाँले भने आफ्नै खुसीले राजीनामा दिएको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, ‘आज मैले राजीनामा दिएको हुँ । मैले आफ्नै राजीखुसीले राजीनामा दिए, माथिको दबावले होइन ।’

 

Share Now