Prakash Adhikari January 11, 2024

 

मलंगवा(सर्लाही), २६ पौष(बीबीसी) । सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा महासम्बोधी धर्मसङ्घका प्रवर्तक रामबहादुर बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

कुनै समय लिटिल बुद्धको उपमा पाएकाक रामबहादुर बमजन भनिने रामलाल बमजनको बिहीवार बयान लिएपछि जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले यस्तो आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभएको छ।

“अहिले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अब माघ ७ गते बकपत्रका लागि पेसी तोकिएको छ”, अधिकारीले भन्नुभयो।

बमजनका समर्थकहरूले उहाँ निर्दोष रहेको र उहाँलाई फसाउन खोजिएको दाबी गर्दै आएका छन्।

कुनैबेला ‘लिटल बुद्ध’ र ‘बुद्ध बोइ’ जस्ता उपनामले चिनिनुभएका बमजनविरुद्ध उहाँको आश्रममा बस्ने एक अनुयायीले बालयौन शोषणको उजुरी दिनुभएको थियो। त्यसका आधारमा अदालतले बमजनविरुद्ध २०७६ माघमा पक्राउपुर्जी जारी गरेको थियो।

तर चार वर्षपछि बमजन मङ्गलवार काठमाडौंबाट पक्राउ पर्नुभएको हो।

बमजन फरार नै रहेको समयमा २०७७ असारमा सरकारी वकिलको कार्यालयले उहाँविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। रौतहटकी एक किशोरीले बमजनको आश्रममा रहँदा आफूमाथि बालयौन शोषण भएको बयान दिनुभएको थियो ।

बमजनविरुद्ध लागेका आरोप

सरकारी वकिलको कार्यालयले बालबालिकासम्बन्धी ऐनको हदम्याद नुसार ती किशोरी वयस्क भएपछि मुद्दा दर्ता गरिएको जानकारी दिएको थियो।

सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा बमजनलाई अधिकतम १४ वर्षसम्म जेल सजाय हुनुपर्ने मागदाबी गरेको छ।

बमजनलाई बुधवार राति सर्लाही पुर्‍याएर बिहीवार अदालतमा बयानका लागि उपस्थित गराइएको थियो। बमजनको पक्षबाट दुई वकिलले बहस गर्दै उहाँ निर्दोष रहेको दाबी गरेका थिए।

अन्य अभियोगमा पनि अनुसन्धान

प्रहरीले बमजनका चार अनुयायी बेपत्ता भएको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ। तर बमजनको आश्रमबाट अर्की एक अनुयायी बेपत्ता भएको विषयमा उहाँको परिवारले यसअघि सर्लाही प्रहरीमा उजुरी दिएको बीबीसीका प्रतिनिधिलाई बताएको थियो।

बमजनको आश्रममा बस्दै आएकी सर्लाहीको बाग्मती नगरपालिकास्थित काजीराम टोलकी रिता बोट बेपत्ता भएको भन्दै आफ्नी छोरीको खोजतलासका लागि २०७७ पौष १८ गते आमा सोमती बोटले सर्लाहीको हरिऔनस्थित प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो।

प्रहरीले यसबारे अनुसन्धान भए नभएको केही खुलाएको छैन।

यसअघि पनि बमजनको नाममा सिन्धुपाल्चोक, सिन्धुली र बारा जिल्लामा खोलिएका आश्रममा गएका भक्तहरू बेपत्ता भएका र उनीहरूको ‘खोजतलास गरिपाऊँ’ भन्दै प्रहरीमा निवेदनहरू दर्ता भएका छन्।

प्रहरीका अनुसार नुवाकोटको मेघाङ गाउँपालिकाकी २९ वर्षीया चिनीमाया तामाङ सिन्धुपाल्चोकको बाँडेगाउँमा रहेको बमजनको आश्रमबाट २०६९ असोजबाट बेपत्ता भएको विषयमा पनि उजुरी परेको छ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ३० वर्षीया फूलमाया रुम्बा पनि सिन्धुपाल्चोककै आश्रमबाट २०७१ माघदेखि बेपत्ता भएको बताइएको छ। त्यही आश्रमबाट हेटौँडाकै ५१ वर्षीय सन्चलाल वाइबा २०७१ चैतबाट बेपत्ता भएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिकाका ३४ वर्षीय सुरेशकुमार आले पनि २०७२ जेठबाट बाराको खुमजोरस्थित आश्रमबाट बेपत्ता भएको विषयमा बमजनविरुद्ध अनुसन्धान भइरहेको छ।

बमजनको आश्रमबाट बेपत्ता भएको भएको दाबी गरिएकाहरू

रिता बोट, बाग्मती नगरपालिका, सर्लाही। उमेर : अन्दाजी ३३ वर्ष
फूलमाया रुम्बा, हेटौँडा उपमहानगरपालिका, मकवानपुर। उमेर: ३० वर्ष
चिनीमाया तामाङ, मेघाङ गाउँपालिका, नुवाकोट। उमेर: २९ वर्ष
सन्चलाल वाइबा, हेटौँडा उपमहानगरपालिका, मकवानपुर। उमेर: ५१ वर्ष
सुरेशकुमार आले, जितपुर सिमरा उपमहानगरपालिका, बारा उमेर: ३४ वर्ष

बमजनका अनुयायीको भनाई

बमजनको नेतृत्वमा स्थापित महासम्बोधी धर्मसङ्घकी सदस्य समेत रहेकी भूतपूर्व राज्यमन्त्री यशोदा लामाले बमजनमाथि लगाइएका आरोपहरू झुटो भएको दाबी गर्नुभएको छ।

“अरूलाई पनि हिंसा नगर्नू, पात समेत नटिप्नू भनेर भनेर सिकाउने गुरुले बलात्कार गर्ने, हिंसा गर्ने गर्नुहुन्छ ?” उहाँले बीबीसी न्यूज नेपालीसँग भन्नुभएको छ।

“मैले हिजो (बुधवार) प्रहरी हिरासतमा पुगेर उहाँलाई भेटेँ। उहाँले ‘म निर्दोष छु’ भनेर समर्थकहरूलाई चिन्ता नलिन र आवेशमा नआउन भन्नुभएको छ। सत्य सधैँ सत्य नै हुन्छ अदालतलाई अनुसन्धान गर्न दिनुहोस् भन्नुभएको छ,” उहाँले भन्नुभयो।

बमजन पक्राउ परेपछि पूर्वराज्यमन्त्री लामा उनलाई भेट्न बुधवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुग्नुभएको थियो।

बमजनले प्रवर्तन गरेको धर्म

बमजनले कलिलो उमेरबाटै ध्यान र तपस्या गर्न थालेको बताइन्छ। तर विभिन्न विवादमा मुछिएपछि उहाँ विगत चार वर्षदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो।

बाराको एउटा एकान्त वनमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका बमजन १६ वर्षको उमेरमै १९ वर्षअघि एकाएक चर्चाको चुलीमा पुग्नुभएको थियो।

त्यतिबेला बीबीसीसँगको कुराकानीमा उहाँका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिई ध्यानमा लीन भएको दाबी गरेका थिए।

देशका विभिन्न ठाउँहरूमा उहाँका आश्रम रहेको र देशबाहिर पनि उहाँका अनुयायीहरूको सङ्ख्या ठूलो रहेको बताइन्छ।

बमजनले स्थापना गरेको संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।

उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उहाँले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए। उहाँलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ुलिटल बुद्धु को उपनाम दिएका थिए।

तर उहाँले अपनाएको धार्मिक मार्ग भने बौद्ध धर्मभन्दा फरक रहेको उनका एक अनुयायी तथा अर्का भूतपूर्व राज्यमन्त्री मणि लामाले बताउनुभयो।

“यो धर्म बौद्धधर्मको कुनै शाखा होइन, यो छुट्टै मार्ग हो। शान्तिको कुरा बौद्ध धर्मसँग मिल्छ तर उहाँले आत्मा र परमात्मा रहेको कुरामा पनि विश्वास गर्नुभएको छ, त्यो चाहिँ बुद्धले विश्वास गर्नुभएको छैन”, लामाले बीबीसी न्यूज नेपालीसँग भन्नुभएको छ।

 

Share Now