Prakash Adhikari January 14, 2024
काठमाडौँ, २९ पुस : नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पहिलोपटक स्थापित प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार २०८० आज एक कार्यक्रमबीच वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रक्मिणी श्रेष्ठलाई प्रदान गरिएको छ ।
घिमिरे २०१८ सालदेखि रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रा आरम्भ गर्नुभएको थियो । प्रतिष्ठानले उहाँलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार, २०८०’ बाट सम्मानित गरेको हो ।
यस्तै, नेपालभाषाको साहित्यक मासिक पत्रिका ‘थौंकन्हे’को सम्पादक तथा प्रकाशक वरिष्ठ साहित्यिक पत्रकार श्रेष्ठ २०४५ सालदेखि साहित्यिक पत्रकारितामा आबद्ध हुनुहुन्छ । प्रतिष्ठानले उहाँलाई नेपालभाषाको साहित्यिक पत्रकारितामा पु¥याउँदै आउनुभएको योगदानको सम्मान गर्दै ‘प्रज्ञा नेपाली मातृभाष साहित्यिक पत्रकारिता पुरस्कार, २०८०’ बाट सम्मानित गरेको हो । पुरस्कृत दुवै जनालाई कदरपत्रसहित प्रतिव्यक्ति नगद रु ५० हजार सम्मानस्वरुप उपलब्ध गराइएको छ ।
सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यिक पत्रकारिताको महत्वलाई सरकारले बिर्सन नहुने भन्दै पुरस्कारलाई निरन्तरता दिने बताउनुभयो । “साहित्यिक पत्रकारिता पुरस्कार साहित्य क्षेत्रमा कमल चलाउने पत्रकारको सम्मानस्वरुप सुरु गरेका छौँ, यसले निरन्तरता पाउनुपर्छ”, कुलपति राईले भन्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले सम्मानित पत्रकारहरुलाई बधाई दिँदै साहित्यिक पत्रकारितामा उहाँहरुको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
भाषा आयोगका अध्यक्ष मातृका पोखरेलले साहित्यिक पत्रकारितालाई सम्मान पुरस्कारलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न सुझाव दिनुभयो । उहाँले साहित्य क्षेत्रप्रति नै राज्यले हेर्ने नजर सकारात्मक बनाउन जरुरी भएको बताउनुभयो ।
सो अवसरमा साहित्यक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवाल, मधेस आयोगका सदस्य आभाकुमारी सिंहलगायत  साहित्यकाहरुको उपस्थिति थियो ।
Share Now