काठमाडौं, १ माघ। हिमालयन बैंकको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रज्ञाभवन कमलादी काठमाडौंमा सम्पन्न साधारण सभाले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाबाट बैंकले सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि अंकित मूल्यमा प्रिमियम थप गरेर एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले एफपीओ निष्काशनको संख्या निर्धारण गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । चुक्ता पुँजीमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउनका लागि बैंकले एफपिओ ल्याउन लागेको हो ।
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६ सय ३२ रुपैयाँ छ । स्रोतका अनुसार उक्त पुँजीको २.९९ प्रतिशत अर्थात् ६४ करोड ७५ लाख ३२ हजार ८ सय ७ रुपैयाँमा प्रिमियम थपेर एफपिओ ल्याउन लागिएको हो ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ९ मा व्यवस्था भए बमोजिम बैंकको कुल पुुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि साधारण सेयर थप सार्वजनिक निष्काशन गर्ने भएको हो ।
आइतबार सम्पन्न सभाले सभाले बैंक तथा यसका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तत गरी बैंकको सहायक कम्पनी हिमालयन लघुवीत्त वित्तीय संस्थाको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराउनुभएको थियो ।
उहाँले बैंकले निकट भविष्यमा धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।
सभाबाट हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक निर्वाचित गरेको छ । जसमा प्रचण्डबहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिलबहादुर थापा र प्रतापजंग पाण्डे निर्बिरोध निर्वाचित हुनुभएको छ । यस्तै सर्बसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आजै बसेको संचालक समितिको बैठकले नव नियुक्त संचालकहरु मध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ ।


















