Prakash Adhikari January 15, 2024
भैरहवा (रुपन्देही), १ माघ : यहाँ जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । आज भएको खेलमा ब्याटर शेर मल्लको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ५८ रन मात्रै बनाउनसक्यो । लुम्बिनीका लागि प्रज्जवल थापाले ६८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाए भने मोहम्मद हुसेनले २६ रन र विराट भण्डारीले २३ रन बनाउनुभयो ।
सुदूरपश्चिमका लागि नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र नरेन साउदले समान दुई÷दुई विकेट लिए । एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । उसका लागि शेर मल्लले अविजित ४२ रन र नारायण जोशीले २८ रन जोड्नुभयो । साथै ओपनरद्वय खडक बोहराले २१ र टेक रावतले १८ रन बनाए । लुम्बिनीका लागि अभिशेष गौतमले तीन विकेट लिए भने कृष्ण कार्की र अजय चौहानले समान एक÷एक विकेट लिए । सुदूरपश्चिमका नारायण जोशी प्लेयर अफ द म्याच घोषित भए ।
 आर्मीद्धारा १ सय २६ रनले मधेस प्रदेश पराजित
 प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई एक सय २६ रनको भारी आन्तरले पराजित गरेको छ ।
जीतका लागि तीन सय २१ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ९४ रनमा समेटियो । मधेसका लागि पवन सराफले ८३ बलमा सात चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए । त्यस्तै मयन यादवले ३२ बलमा ६ चौकासहित ३२ बनाए । राजेश यादवले ४८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहँदा  रुपेश सिंहले १८, विशाल पटेलले १७ तथा हरिशङ्कर शाहले चार रन बनाए ।
आर्मीका लागि साहब आलमले चार विकेट लिए भने सोमपाल कामीले दुई तथा जितेन्द्र मुखिया र कुशल मल्लले समान एक–एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय २० रनको योगफल बनायो । आर्मीका लागि विनोद भण्डारीले ९३ बलमा नौ चौका र छ छक्कासहित एक सय १३ रनको शतकीय पारी खेले । यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इमरान शेखले २६, भीम सार्कीले १८ तथा  बसिर अहमदले १६ रन बनाए ।
आर्मीका लागि पाँचौ विकेटका लागि विनोद र कुशललले एक सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इमरानले ५३ रनको साझेदारी गरेका थिए ।
मधेसका लागि रन्जित कुमारले पाँच विकेट लिए भने विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक–एक विकेट लिए ।
Share Now