Prakash Adhikari January 16, 2024

 

काठमाडौं, २ माघ । नेपालमा पेट्रोलियम पदार्थको आयात र बिक्री वितरणमा एकाधिकार जमाएको नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जना आकांक्षी मैदानमा उत्रिएका छन् ।

निगमको कार्यकारी निर्देशकको लागि मागिएको विज्ञापनमा १४ जनाले आवेदन दिएका छन् ।

रिक्त कार्यकारी निर्देशक नियुक्त गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस ७ गते आवेदन माग गर्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

आवेदन दिनेमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत विशेष आर्थिक क्षेत्रको कार्यकारी निर्देशक रहनुभएका गोरखाका चण्डिकाप्रसाद भट्ट समेत हुनुहुन्छ । निगमका पूर्व महानिर्देशक भट्ट निगमको समग्र सुधारका लागि आफूसंग योजना र कार्यक्रम रहेको भन्दै प्रतिस्पर्धामा उत्रिनुभएको हो । कार्यकारी निर्देशक भर्नाका लागि आवेदन खुल्दा उहाँ नियमित प्रतिस्पर्धामा रहदै आउनुभएको छ ।

मन्त्रालयले २०७५ सालदेखि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न थालेको हो ।

निगमको कार्यकारी निर्देशक बन्न हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धकको जिम्मेवारीमा रहनुभएका दाङका बसन्तकुमार पाण्डेले पनि निवदेन दिनुभएको छ । यस्तै सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको उपमहानिर्देशकबाट अवकाश प्राप्त सिभिल इन्जिनियर दिलिपशेखर श्रेष्ठले पनि प्रतिस्पर्धा गर्नुभएको छ ।

यसबाहेक काठमाडौंका सहदेव चन्द, धनुषाधाम २ का रामदेव यादव र राजविराज १३ का सञ्जिवकुमार श्रेष्ठले पनि कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् । यसैगरी मोरङका पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निगमको नेतृत्व लिन इच्छा देखाउनुभएको छ ।

त्यस्तै बाग्लुङ ९ का डोलिन्द्रप्रसाद शर्मा, ललितपुर महानगरपालिका २४ का शत्रुध्नप्रसाद पुडासैनी, लोहारपट्टि नगरपालिका ३ महोत्तरीका कमलेन्द्रलाल कर्ण, बूढानीलकण्ठ नगरपालिका ८ का उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका १४ का डा। डोलप्रसाद चापागाईले पनि नेपाल आयल निगमको नेतृत्व गर्ने आँट देखाउदै प्रतिस्पर्धामा सहभागिता जनाउनुभएको छ ।

Share Now