,
काठमाडौं, ३ माघ । कर्मचारी सञ्चय कोषले आगामी फागुनदेखि सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने नीति लिएको हो ।
कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेकोमा फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीलाई समेत यो योजनामा समेटिएको कोषले जनाएको छ ।
कोषले आफूले सूचीकृत गरेका अस्पतालहरुबाट सेवा लिएमा मात्र सो सुविधा उपलब्ध गराउने उल्लेख गर्दै भनेको छ , ‘कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने सन्दर्भमा २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेकोमा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरूको सूची तयार गरिएको हुँदा सो सूचीमा उल्लिखित अस्पतालहरूमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने ब्यहोरा जानकारी गराइन्छ ।’
कोषको सूचनामा भनिएको छ, ‘साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
कोषले यससम्बन्धी विस्तृत विवरण लिन र नयाँ व्यवस्था बमोजिमको अस्पतालहरूको सूची कोषको वेबसाईट www.epf.org.np मा हेर्न सकिने जानकारी दिएको छ । कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ता वा पति पत्नीको उपचार गराई कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्नहुन समेत सञ्चयकर्तामा अनुरोध गरेको छ ।’


















