काठमाडौं, ३ माघ । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा सरकारले पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको छ ।
कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ । उहाँ २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुभएको थियो।
उहाँ अहिले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। २०७९ साउनमा उहाँ किसान लघुवित्तको सीइओ नियुक्त हुनुभएको थियो।
कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक छनोटको लागि समिति गठन भएको थियो ।
अर्थ मन्त्रालयले कार्कीका अतिरिक्त राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक राजेन्द्रप्रसाद पण्डित, लेखनाथ शर्मा पंगेनीको नाम मन्त्रिपरिषद्मा चयनको लागि पठाएको थियो ।
कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिएका १० जना आवेदकबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरिएको थियो।
पाँच जनाको सर्ट लिष्टिङमा पर्वतकुमार कार्की, राजेन्द्रप्रसाद पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ पर्नुभएको थियो ।
पाँचै जनाको अन्तरवार्ता पुस १७ गते लिइएको थियो।


















