Prakash Adhikari January 18, 2024

काठमाडौं , ४ माघ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा अर्थसचिव डा. कृष्णहरी पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य रहनुभएको छ । निरौलालाई विज्ञका रुपमा समिति सदस्य नियुक्त गरिएको हो ।

बुधबारको मन्त्रिपरिषदको बैठकले समिति गठन गरको हो ।

धितोपत्र बोर्ड ऐनको दफा ७ मा बोर्डको अध्यक्षमा सिफारिस गर्न राष्ट्रिय योजना आयोगको अर्थ मन्त्रालय हेर्ने सदस्यको संयोजकत्वमा अर्थ सचिव र एक जना विज्ञ रहेको समिति गठन गर्नु पर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले अर्थ मन्त्रालय हेर्ने भएकाले उहाँको नेतृत्वमा समिति गठन गरिएको बताइएको छ।

अब समितिले अध्यक्ष छनोट सम्बन्धि कार्यविधि बनाइ विज्ञापन प्रकाशित गर्नेछ । र, आवेदन दिनेमध्येहरुबाट कार्यविधिमा उल्लेख हुने प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिको लागि सरकार समक्ष सिफारिस गर्नेछ । अर्थमन्त्रीले सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि मन्त्रिपरिषद्ले तीन जना मध्यबाट कुनै एक जनालाई बोर्ड अध्यक्ष नियुक्ति गर्ने छ ।

गत पुस २० गते रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ ।

 

Share Now