बफेलोपार्क(इष्टलण्डन,दक्षिण अफ्रिका), १२ माघ । आईसीसी यू–१९ विश्वकप २०२४ अन्तरगत नेपालले आज समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्दैछ ।
नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो १ः४५ मा दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।
समूह चरणको अन्तिम खेल भएकोले यो नेपालका लागि ज्यादै महत्वपूर्ण छ । यो खेलमा जिते नेपाल सुपर सिक्समा पुग्नेछ । पराजित भएका गुन्टा बोकेर नेपाली टोली तातै पाइला फर्कनु पर्नेछ ।
यसैले यो खेल नेपाली खेलाडीका लागि ‘गर या मर’को अवस्थामा हुन गइरहेको छ । जीउ ज्यान लगाएर खेलेर जिते भने नेपालको अगाडिको मार्ग प्रशस्त हुन्छ भने पराजित भएका यसपटकको विश्वकप यात्रा समूह चरणको सहभागितामा विसर्जन हुन्छ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भइसकेको छ ।
अफगानिस्तान पाकिस्तानसँग १ सय ८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।
दक्षिण एसियाका दुई चर्चित यू–१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले शुक्रबार यी दुई टोलीबीच यू–१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।
अफगानिस्तानले २०१० देखि लगातार यू–१९ विश्वकप खेल्दै आएको छ । नेपालले २००० देखि सुरु गरेको थियो । २००८ सम्म यू १९ विश्वकप खेले पनि अफगानिस्तानको आगमनसँग नेपाल विश्वकपमा स्थान बनाउन सकेको थिएन । २००८ पछि नेपालले २०१२ र २०१६ मा यू १९ विश्वकप खेलेको थियो ।
२०२३ मा सम्पन्न यू–१९ एसिया कपमा नेपाल ७३ रनले पराजित भएको थियो । यो खेलमा अफगानिस्तान २ सय ६१ रनमा अल आउट भएको थियो भने नेपाल १ सय ८८ रनमा अल आउट ।
सन २०१८ को यू १९ एशिया कपमा नेपाल ३ विकेटले पराजित भएको थियो । सो खेलमा नेपाल १ सय ३१ रनमा अल आउट भयो भने अफगानिस्तान ३७.३ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन जोडेर नतिजा आफ्नो पक्षमा पार्यो ।
२०१७ को यू–१९ एसिया कपमा नेपाल ७ विकेटले पराजित भयो । नेपाल १ सय ३ रनमा अल आउट भएको थियो भने अफगानिस्तानले २०.३ ओभरमा ३ विकेटको क्षतिमा १ सय ८ रन जोडेर आफूलाई अब्बल सावित गर्यो ।
सन २०१७ कै यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल ९६ रनले पराजित भएको थियो । सो खेलमा अफगानिस्तान १ सय ९५ अल आउट भएको थियो भने नेपाल ४०.३ ओभर ९९ रनमा अल आउट भएको थियो ।


















