काठमाडौं, १२ माघ । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको बताउनुभएको छ।
भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आयात हुँदा राजस्व अपेक्षित उठ्न नसकेको बताउनुभएको हो।
“विगतमा गाडी आयात इन्धनमा आधारित भएकोमा अहिले विद्युतीय गाडीको आयात दोब्बर भएको छ, “अर्थमन्त्री महतले भन्नुभयो, “विद्युतीय गाडीको न्यून भन्सार दर रहेको छ। विद्युतीय गाडीका कारण ३५ अर्ब कम राजस्व उठेको छ।”
मन्त्री महतले राजस्वका दृष्टिले अहिले दबाबमा रहेको बताए। लक्ष्यअनुसारको राजस्व नउठ्नुमा डिजिटल कारोबारलाई पछ्याउन समस्या देखिएको बताउनुभयो।
व्यवसाय गर्ने शैलीमा व्यापक परिवर्तन आएको सन्दर्भमा भन्सार र राजस्व प्रशासन सोही शैलीबाट अघि बढ्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ।
पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाले भन्सार राजस्वमा सुधारका लागि कार्यसम्पादनमा आधारित छुट्टै भत्ता लागू गर्नुपर्ने बताउनुभययो। उहाँले स्वदेशी उद्योग र कृषिलाई केन्द्रित गरेर भन्सार नीति अघि सार्नु सुझाउनुभयो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरे। उनले औपचारिक व्यावसायिक वातावरण बनाउन, खुला सीमा नाकाबाट धेरै सामान आयात भएकाले त्यसलाई रोक्नुपर्ने बताउनुभयो।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेन्द्र अग्रवालले कच्चा पदार्थ र तयारी वस्तुबीचको भन्सार दरबन्दी दुई तह अन्तर गर्न आग्रह गर्नुभयो । भन्सार विभागले आजबाट भन्सार जाँचपासमा डिजिटल हस्ताक्षर सुरू गरेको छ ।


















