बफेलोपार्क(इष्टलण्डन,दक्षिण अफ्रिका), १२ माघ । आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।
दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले १० औं ओभरको सुरु बलसम्म ५ विकेट लिएको छ ।
खेलमा सुरुको दुई ओभरमा दुई विकेट लिएको छ । नेपालका लागि गुल्सन झा र आकाश चन्दले समान एक÷एक विकेट लिए । आकाश चन्द त्यतिमा सीमित रहेनन् । उनले ५.५ ओभरमा अर्को विकेट लिएर ७.६ ओभरमा तेस्रो विकेट लिए । ९.१ ओभरमा अर्को विकेट लिए ।
नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा गुल्सनले खेलको पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई आउट गराए । त्यस्तै आकाशले दोस्रो ओभरको तेस्रो बलमा अफगानिस्ताका खालिद तानिवालाई आउट गराए । आकाशले छंैठौं ओभरको पाँचौ बलमा जम्सिद जर्दानलाई आउट गरे भने आठौ ओभरको अन्तिम बलमा जोहोर खान जुर्मातीलाई आउट गरे । १० औं ओभरको पहिलो बलमा अलि अहमदको विकेट लिए ।
नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाल आजको खेल जित्नैपर्ने दबाब छ ।
समूह ‘डी’को पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको पराजित भएको थियो ।
अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्यूजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।


















