काठमाडौं, १३ माघ । पूर्ण सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले सिनामंगलमा रहेका आफ्नो जग्गामा अत्याधुनिक व्यापारिक भवन निर्माण गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज एक समारोहका बीच भवन निर्माणस्थलमा भूमिपूजन कार्य सम्पन्न गर्नुभएको छ ।
निगमको भूमिपूजन कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री किरातीले निगमको अवरोहको दिन समाप्ति भएर शिखर आरोहणका दिन शुभारम्भ भएको बताउनुभयो ।
उहाँले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचानको माध्यम बनेको राष्ट्रिय ध्वजाबाहक विमान सञ्चालन गर्ने निगमको समुन्नतिका लागि सबैले व्यक्तिगत स्वार्थ त्यागेर संस्थाको भलाई सोच्नुपर्ने बताउनुभयो ।
उहाँले विगत केही समय यता निगमले दीर्घकालिन योजना अनुरुप काम गरिरहेको बताउनुभयो । स्टल रुटमा चल्ने विमानहरुको खरिदको टेण्डर प्रक्रिया आरम्भ हुनु, आन्तरिक क्षेत्रमा ट्रंक रुटमा चल्ने जहाज र अन्तर्राष्ट्रिय क्षेत्रमा चल्ने जहाज खरिदको प्रक्रिया थाल्ने तयारी हुनु, निगमको वित्तीय सुधारका लागि दीर्घकालीन कर्जा लिने प्रक्रिया शुरु हुनु,निगमको एप्रोन निर्माणको प्रक्रियालाई अगाडि बढाउने तयारी गरिनु लगायत गन्तव्य विस्तारका काममा भएको तयारीले अहिले केही सन्तोष मिलेको बताउनुभयो ।
उहाँले निगमले विमान सेवा सञ्चालनबाट बचत गरेको पैसाले विगतमा खरिद गरिएका विमानको साँबा ब्याज भुक्तानी गरिरहेको विषयलाई पनि आफूले सकारात्मक ढंगले लिएको बताउनुभयो ।
उहाँले निगमका बोर्ड सदस्य र कार्यकारी अध्यक्षतर्फ लक्षित हुँदै भन्नुभयो, “निगमको उन्नति हुने कार्यमा निर्णय गर्न नडराउनु होला म साथमा छु । मान्छेको जीवन १०० बर्षको हाराहारीकै मान्दा पनि हामीले गरेको काम सन्तान दरसन्तानले संझिन सकून भन्ने ढंगले काम गर्न अगाडि बढ्नु पर्दछ ।”
मन्त्री किरातीले थप्नुभयो , “हटि हैन डटी लड्ने नेपालीको बानी हुन्छ । मैले त जनयुद्धमा निस्कदा नै आफ्नो जीवन हत्केलामा राखेर निस्केको हो । अब देशको लागि राम्रो काम गर्दा जेल परिएला भनेर म तर्सन्न । म पीठ फर्काएर भाग्ने मान्छै हैन । अध्यक्ष त झन कवि मान्छे । जेल पर्नुभयो भने पनि त्यही लेखपढ गरौला । त्यही पुस्तक विमोचन गरौला । केही निर्णायक काम गरौं । यो राष्ट्रिय ध्वजावाहकलाई शिखरमा पुर्याऔ । ”
कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीेले निगमको आन्तरिक सुधारका कार्यक्रम अन्तरगत आफूसंग भएका सम्पत्ति व्यवस्थापन र परिचालन गर्ने क्रममा यस स्थानमा व्यवसायिक भवन बनाउने तयारी गरिएको बताउनुभयो ।
उहाँले निगममा कार्यरत सहकर्मीबीचमा संस्थागत हितको लागि समभावले काम गर्ने वातावरण आवश्यक रहेको बताउनुभयो । उहाँले सबैको साथ र सहयोगबाट निगमको रुपान्तरण संभव हुने बताउनुभयो । कार्यकारी अध्यक्ष अधिकारीले यस ठाँउमा हाम्रै पालामा भव्य ब्यवसायिक भवन बन्ने विश्वास दिलाउनु भयो ।
भूमिपूजन समारोहलाई संबोधन गर्दै निगमका सञ्चालक समितिका सदस्य किशोर प्रधानले निगमको सिनामंगलमा अत्याधुनिक भवन निर्माण भएमा त्यसबाट बार्षिक ५० करोड आम्दानी गर्न सकिने बताउनुभयो । उहाँले निगमको व्यवस्थापन र सञ्चालक समिति मात्र हैन, तालुकदार मन्त्रालयका मन्त्री पनि ध्वजावाहक विमान सञ्चालन गर्ने संस्थाको उन्नतिको लागि समर्पित भएको बेलामा केही उल्लेख्य काम गर्न सकिने वातावरण बनेको बताउनुभयो ।
भूमिपूजन कार्यक्रममा निगमको सञ्चालक समितिका सदस्यहरु, विभागीय प्रमुखहरु, कर्मचारीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आगमनद्धारको चक्रपथको पश्चिमपट्टि भागमा निगमको करिब ३५ रोपनी जग्गा रहेको छ ।
निगमले सो स्थानमा व्यवसायिक भवन बनाउने गुरु योजना पहिल्यै बनाएको थियो ।




















