वाशिंटन डी.सी(संयुक्त राज्य अमेरिका), १३ माघ । डोनल्ड ट्रम्पलाई राष्ट्रपति भएका बेला लेखिका ई जीन क्यारोलको मानहानि गरेको भन्दै क्षतिपूर्ति स्वरूप ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न अदालतले आदेश दिइएको छ।
मानहानि सम्बन्धी मुद्दाको सुनुवाइ गरेको जुरीले भावना र प्रतिष्ठामा पुर्याएको क्षतिका लागि १ करोड ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति र दण्डनीय क्षतिका लागि अर्को ६ करोड ५० लाख डलर तिर्नुपर्ने भनेको छ।
क्यारोलले उक्त आदेशलाई महिलालाई कमजोर पार्न खोज्ने प्रत्येक व्यक्तिको हार भएको प्रतिक्रिया दिनुभएको छ।
ट्रम्पले सो आदेश पूरै हास्यास्पद भएको बताउनुभएको छ।
पूर्वराष्ट्रपति ट्रम्प गत शुक्रवार आफ्ना अन्तिम तर्क प्रस्तुत गर्ने क्रममा अदालतमा उपस्थित हुनुभएको थियो। तर आदेश सुनाउने बेला उहाँ अदालती कक्षमा हुनुहुन्थेन।
दोषी पहिल्यै, सजाय अहिले
यसअघिको एउटा इजलासले सन् १९९० को दशकमा क्यारोललाई ट्रम्पले यौन दुर्व्यवहार गरेको ठहर गरेको थियो।
तर पछिल्लो मुद्दा भने सन् २०१९ मा राष्ट्रपति भएका बेला उनले व्यक्त गरेका अभिव्यक्तिसँग सम्बन्धित छ।
फैसला दिने न्यायाधीशलाई ज्यान मार्ने धम्की
ट्रम्पका अभिव्यक्तिहरू मानहानि गर्ने खालको भएको भन्दै एक जना न्यायाधीशले आदेश सुनाइसक्नभएको थियो। पछिल्लो जुरीको काम उहाँले तिर्नुपर्ने क्षतिपूर्ति टुङ्ग्याउनु थियो।
ट्रम्पले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै पछिल्लो आदेशविरुद्ध पुनरावेदन गर्ने बताउनुभएको छ।
रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतीय उम्मेदवार हुन खोजिरहेका बेला ट्रम्पविरुद्ध देखा परेका कैयौँ मुद्दामध्ये यो एक हो।
कस्तो मानहानि ? कति क्षतिपूर्ति
क्यारोलले आफूविरुद्ध यौन दुर्व्यवहार भएको कुरालाई ( ट्रम्पले झुट बोलेको भनेपछि ) त्यसले आफ्नो प्रतिष्ठामा असर गरेको र उनका समर्थकहरूबाट व्यापक रूपमा हत्याको धम्की आएको तर्क गर्नुभयो।
कुल ८ करोड ३० लाख क्षतिपूर्तिमध्ये १ करोड १० लाख डलर क्यारोलको प्रतिष्ठामा पुगेको क्षतिका लागि, ७३ लाख डलर भावनात्मक क्षति र ६ करोड ६५ लाख डलर दण्डनीय सजायका रूपमा तिर्नुपर्ने भनिएको छ।
दण्डनीय सजाय ट्रम्पले उनीविरुद्ध बोल्ने काम रोक्ने मनसायले दिइएको बताइएको छ।
जुरीले सुनाएको क्षतिपूर्ति रकम क्यारोलले मागेभन्दा धेरै हो।
लेखिका क्यारोलले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा यौन हिंसा गरेको बताएकी थिइन्।
फैसला र ट्रम्पको प्रतिक्रिया
सात जना पुरुष र दुई जना महिला रहेको जुरीले शुक्रवार दिउसो तीन घण्टाभन्दा कम समयमै उक्त आदेश सुनाएको थियो।
क्यारोलका वकिलले एक विज्ञप्तिमार्फत भनेका छन्, ूआजको आदेशले हाम्रो देशमा कानुन सबैका लागि ( धनीका लागि पनि, चर्चित व्यक्तिका लागि पनि, पूर्वराष्ट्रपतिका लागि पनि ( लागु हुन्छ भन्ने प्रमाणित गरेको छ।
तर फैसलापछि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा गरिएको पोस्टमा ट्रम्पले मुद्दाको नतिजाको आलोचना गरे तापनि उनी क्यारोलमाथि प्रत्यक्ष आक्रमण गर्नबाट जोगिए।
“म दुवै फैसलामा असहमति जनाउँछु” , पूर्वराष्ट्रपति ट्रम्पले भन्नुभएको छ,”र, म यो पूरै बाइडन निर्देशित म र रिपब्लिकन पार्टीमा केन्द्रीत वीच हन्टविरुद्ध अपिल गर्नेछु।”
ट्रम्पले थप लेख्नुभएको छ, “हाम्रो कानुनी तन्त्र नियन्त्रणबाहिर छ, र यो राजनीतिक हतियारको रूपमा प्रयोग भइरहेको छ।”


















