Prakash Adhikari January 28, 2024

 

काठमाडौं, १४ माघ । साताको पहिलो कारोबार दिन नेपालको शेयर बजारमा हरियाली छाएको छ । पछिल्लो सात कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको धितोपत्र बजार परिसूचक आइतबार १०.३७ अंक बढेर २०९४.४६ विन्दुमा पुगेको छ।

धितोपत्र बजार परिसूचकसंगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य ८.७३ प्रतिशत बढेको छ। यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको साढे २३ करोडको शेयर कारोबार भएको छ भने रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम १७ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

Share Now