Prakash Adhikari January 28, 2024

काठमाडौं, १३ माघ । प्रदीप पासवानको घातक बलिङमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैटौँ जित दर्ता गरेको छ।

आइतबार भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै छैटौँ जित निकालेको हो।

मधेसले ९ खेलमा ६ खेलमा जित दर्ता गर्दा ३ खेलमा हार भोग्दै १२ अंक बनाएको छ।

 

मधेसले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.५ ओभरमा १ सय ६० रनमा अलआउट भयो।

लुम्बिनीका लागि प्रज्वल थापाले ६२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। ७९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा अविशेक तिवारीको बलमा मयन यादवको हातबाट क्याच आउट भए।

अविशेक गौतमले २६, दिलसाद अलीले २२ रन थपे। मृनल गुरुङले २१ रन बनाए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

लुम्बिनीलाई कम स्कोरमा रोक्न प्रदीप पासवानले ६ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले ३० रन खर्चे। अविशेक तिवारीले २ विकेट लिए। रुपेश सिंह र हरिशंकर शाहले समान १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेसले ४१।३ ओभरमा १ सय ६९ रनको योगफल तयार पारेको थियो।

अरनिको यादवले बनाएको ३८ रन नै मधेसका लागि सर्वाधिक रह्यो। अविशेक तिवारी र पवन सर्राफले समान २६ रन थपे। मयन यादवले २२ तथा अनिल शाहले १६ रन बनाए।

लुम्बिनीका लागि वीर मगरले ४ तथा अविशेक गौतमले ३ विकेट लिए। कृष्ण कार्की, मोहम्मद हुसैन र निर्मल गुरुङले समान एक विकेट आफ्नो नाममा गरे।

Share Now