Prakash Adhikari January 29, 2024

 

काठमाडौं, १५ माघ । नुन,चिनी, दालचामल,खानेतेल,ग्याँस जस्ता दैनिक उपभोग्य वस्तु र कृषिमलको बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो लगानीका सहायक कम्पनीहरूमार्फत् भूकम्प प्रतिरोधी घरहरू बनाएर बिक्री सुरु गर्न लागेको छ ।

कर्पोरेशनले अमेरिकी प्रविधिमा तयार पारिएका भूकम्प प्रतिरोधी १० वटा घर पहिलो चरणमा बिक्री गर्ने तयारीसाथ काम गरिरहेको छ।

दशमध्ये चारवटा घर निर्माण सम्पन्न हुन लागेको र बाँकी निर्माणाधीन रहेको उक्त कम्पनीमा कार्यरत अधिकारीहरूले बताउनुभएको छ।

सरकारको समेत स्वामित्व रहेको उक्त कम्पनीले राजधानी काठमाडौंको दहचोकमा ती घर निर्माण गरिरहेको जनाएको छ।

कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेश झाले अमेरिकाको पिनाकल बिल्डिङ सिस्टम टेक्नोलजी (पीबीएसटी)बाट घरहरू निर्माण भइरहेको जानकारी दिनुभएको छ।

विभागीय प्रबन्धक झाले भन्नुभयो, “यो प्रविधिबाट बनाइएका घरहरू भूकम्प प्रतिरोधी हुने भएकाले हामीले सोही प्रविधि अपनाएका हौँ।”

साल्ट ट्रेडिङले मुख्यतः नुन, चिनी, तेल, खाद्यान्न, रासायनिक मल र ग्यास जस्ता वस्तुहरूको कारोबार मात्रै गर्दै आइरहेको थियो।

तर २०७२ सालको भूकम्पपछि “घरले नै किचिएर धेरैको ज्यान गएको” हुनाले आफूहरू घर बनाउने कार्यमा पनि प्रवेश गरेको उहाँले बताउनुभयो।

साल्ट ट्रेडिङले बनाएका घर

साल्ट ट्रेडिङले बनाएका घर

अधिकारीहरूका अनुसार पीबीएसटी प्रविधिमा स्टील फ्रेम बनाएर हलुका कङ्क्रिट फम वा काठको समेत प्रयोग गरेर घर बनाउने गरिन्छ।

त्यसका लागि कोल्ड फर्म स्टील (सीएफएस) वा लाइट गेज स्टील (एलजीएस) प्रयोग हुने झाले बताउनुभयो।

झाका अनुसार यी घरहरूमा डीपीसी ढलानभन्दा माथि पानीको प्रयोग समेत गरिँदैन भने घरको ‘फाउन्डेशन’ बनिसकेपछि त्यसमा स्टिलको ‘स्ट्रक्चर’ बनाइन्छ।

त्यसमा हलुका खालको सामग्री प्रयोग गरेर पर्खालहरू बनाइने र झ्याल ढोका पनि त्यस्तै हुने उहाँले जानकारी दिनुभयो।

“भूकम्पका बेलामा घर भत्किहाल्यो भने पनि स्ट्रक्चर नखस्ने र अन्य हलुका कुराले लागेर मानिसको ज्यान नजाने खालको संरचना बन्छ,” उहाँले भन्नुभयो।

घर बनाउने र बेच्ने सहायक कम्पनी

साल्ट ट्रेडिङले बनाएका घर

साल्ट ट्रेडिङले बनाएका घर

साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो लगानीमा घर बनाउन र बिक्री गर्नका लागि सहायक कम्पनीहरूको स्थापना गरेको जनाएको छ।

घरहरू बनाउन फ्यूचर वर्क्स सोलूशन्स प्रालि र बिक्री तथा व्यवस्थापनका लागि उपहार हाउजिङ प्रालि स्थापना गरिएको झाले बताउनुभयो।

फ्यूचर वर्क्समा कर्पोरेशनका साथै निजी व्यवसायी र उक्त प्रविधि विकास गर्ने अमेरिकी कम्पनीको पनि लगानी रहेको बताइएको छ।

त्यसमा ७० प्रतिशत हिस्सा भने कर्पोरेशनको रहेको छ। त्यस्तै उपहार हाउजिङ पनि साल्ट ट्रेडिङकै सहायक कम्पनी भएको त्यसको वेबसाइटमा उल्लेख छ।

साल्ट ट्रेडिङमा भने नेपाल सरकारको २१.२८ प्रतिशत र निजी क्षेत्रको ७८.७२ प्रतिशत शेयर रहेको छ।

कर्पोरेशनमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९.६७ प्रतिशत र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ११.५९ प्रतिशत शेयर स्वामित्व छ।

घरको मूल्य कति ?

उक्त कम्पनीले यसअघि पनि केही व्यक्तिगत घरहरू बनाइदिएको तर आफैँले घर बनाएर सर्वसाधारणलाई बिक्री गर्न लागेको पहिलो पटक भएको अधिकारीहरूले बताउनुभएको छ।

“दहचोकमा हामीले तीनदेखि चार आनासम्मका अढाईतले घरहरू बनाउँदै छौँ,” झाले भन्नुभयो, “तीन आनामा बनेका चारवटा घर चाहिँ तयार नै छन्।”

तीन आनामा बनेको घरको मूल्य २ करोड ३० लाख रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो। तर चार आनामा बनेको घरको मूल्य भने बनिसकेपछि तय हुने बताइएको छ।

साल्ट ट्रेडिङले विभिन्न सामग्रीहरू बेच्न पाउने भए पनि घर बनाएर बिक्री गर्ने अनुमति उसलाई थिएन।

तर भूकम्पपछि त्यस्तो अनुमति लिइएको र कम्पनीको उद्देश्य परिवर्तन गरी त्यसलाई प्रक्रियागत रूपमा पूरा गरिएको झाले बताउनुभयो।

भूकम्प प्रतिरोधी घर
किन घरमा लगानी ?

साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कम्पनीले आफ्नो लगानीलाई विस्तार गर्न घर निर्माण क्षेत्रमा पनि हात हालेको बताउनुभयो।

उहाँले भन्नुभयो, “एउटा त हामीले यो लगानी गरेको हो। कम्पनीको लगानी विस्तार गर्ने क्रममा यस क्षेत्रमा पनि हामीले लगानी गरेका हौँ।”

“अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ भूकम्पपछि हामीले भूकम्प प्रतिरोधी घरको आवश्यकता देख्यौँ। त्यसैले हामीले सोही अनुरूप प्रविधि खोजेर घर बनाउने काम गरेका हौँ।”

उहाँले त्यसबारे थप स्पष्ट पार्दै भन्नुभयो, “हामीले बनाएको घर अरूका लागि नमुना पनि होस् भनेर यसमा लागेका हौँ।”(स्रोतः बीबीसी नेपाली सेवा)

Share Now