Prakash Adhikari May 7, 2018

 

काठमाडौं,२४ वैशाख । सरकार र यातायात व्यवसायीबीच आइतबार राति भएको सहमतिको जानकारी दिन सोमबार दिउसो आयोजित पत्रकार सम्मेलनमा सहमतिका केही बूँदाहरु प्रेस विज्ञप्तिमा नराखिएकोमा यातायात व्यसायीले आपत्ति जनाएका छन् ।

यातायात व्यसायीहरुले हालसम्म कायम समितिहरुको रोक्का बैंक खाता फुकुवा गर्ने सहमति विज्ञप्तिमा नपारिएको आपत्ति गरेका हुन्।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले आइतबार मध्यरातमा व्यवसायीहरुसँग वार्ता गरेका थिए । वार्तामा यातायात व्यसायीहरुले बैशाख २७ गतेदेखि आह्वान गरेको अनिश्चितकालीन यातायात हड्तालका कार्यक्रम फिर्ता लिने नाममा सरकारले समिति र व्यवसायीहरुको रोक्का राखेको खाता फुकुवा गर्न सहयोग गर्ने विषयमा मन्त्रीले सहमति व्यक्त गरेका थिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले आपत्ति जनाएका छन् । वार्तामा भएका केही सहमति मन्त्रीले लुकाएको महासंघका उपाध्यक्ष विजय स्वाँरको पनिआरोप छ ।

‘हिजो एउटा सहमति भएको छ । माइन्युट गरिएको भन्दा फरक भाषा र विषय राखेर प्रेश बक्तब्य बनाइएको छ,’ उनले भने, ‘हामीलार्इ अन्याय हुने गरी केही कुरा लुकाइएका छन् । हुँदै नभएका सहमति वक्तब्यमा ल्याइएको छ ।’

अध्यक्ष कर्मचार्यका अनुसार यातायात समितिहरुको रोक्का गरिएको बैंक खाता फुकुवा गर्न मन्त्रीले सहयोग गर्ने सहमति भएको छ । तर, सो विषय बाहिर नआएकोमा व्यवसायीको आपत्ति छ ।

यस अगाडि मन्त्री महासेठले सिन्डिकेट अन्त्य गर्ने, दुर्घटनाबारे अध्ययन गर्न आयोग बनाउने, यातायात क्षेत्रको सुधारका लागि कार्यदल बनाउने र आन्दोलन फिर्ता लिने सहमति भएको बताए ।

गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का गरेर पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार राष्ट्र बैंकले आइतबार मात्र २४५ यातायात समितिको बैंक खाता रोक्का गरेको थियो ।

Share Now

Leave a comment.