Prakash Adhikari January 30, 2024

काठमाडौँ, १६ माघ : नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदयात्रा मार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदयात्रा मार्ग निर्माण गरेको हो । एक्सपिडीसनले सोमबार साँझ पत्रकार सम्मेलन गरी नेपालको तराईबाट हिमाली क्षेत्रलाई जोडेर नयाँ पदयात्रा मार्ग निर्माण गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एक्सपिडीसनका अध्यक्ष राजन सिंखडाले नेपालको तराईको भूभागबाट पहाडी भूभाग हुँदै हिमाली भूभागलाई देश विदेशसम्म चिनाउने उद्देश्यले नयाँ पदयात्रा मार्गको अध्ययन गरिएको जानकारी दिनुभयो । “हामीले पदयात्रा मार्ग भन्नेबित्तिकै हिमाली क्षेत्रमात्र भन्ने बुझ्छौँ, तराईबाट हिमालसम्मको धर्म, संस्कृति, रीतिरिवाज, पर्यटकीय गन्तव्यको वस्तुस्थिति बुझ्नका लागि नयाँ पदयात्रा मार्गको अध्ययन गरेका हौँ”, उहाँले भन्नुभयो ।

कपिलवस्तुको खुनुवानाकाबाट सुरु हुने उक्त पदयात्रा मार्गमा तौलिहवा, कपिलवस्तु, कुदन, जगदीशपुर ताल, बुटवल, मसायम हटिया, तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, रिसिङ, दमौली, बन्दीपुर, गोरखा, बोर्लाङ, टारीबेँसी, कटुञ्जे, मेगाङ, साल्मे, गोङ्गा, सिङ्लापास, पाङ्सिङ पास, सोम्दाङ, चिलिमे हुँदै रसुवागढीस्थित केरुङ नाका पर्दछ ।

समुद्र सतहबाट ६० मिटरमा रहेको खुनुवानाकाबाट सुरु हुने उक्त पदयात्रा मार्ग ४ हजार ८० मिटर उचाइको सिङ्लापास गरेर रसुवागढी नाका पुग्न सकिन्छ । नयाँ गन्तव्यको खोजीमा नेपाली टोलीसँगै अमेरिकी हाइकर माइक ओबेस्टरसमेत हुनुहुन्थ्यो । पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी हाइकर माइकले नेपालमा धेरै घुम्नलायक ठाउँ भएको र उक्त ठाउँले आफूलाई मोहित बनाएको बताउनुभयो । उक्त पदयात्रा मार्ग ४ सय ४० किलोमिटरको भएको र आफूलाई पदयात्रा मार्ग पार गर्न १७ दिन लागेको सिंखडाले बताउनुभयो ।

नयाँ पदयात्रा मार्गलाई २० देखि २५ दिनको बनाएर अगाडि बढाउन सकिए नेपालको ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्ने सिंखडाको भनाइ छ । धादिङमा जन्मेर काठमाडौँमा आएर विगत तीन दशकभन्दा बढी समय नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सिंखडाले ‘योगा टुरिजम’लाई समेत अगाडि बढाउनुभएको छ । अध्यक्ष सिंखडाद्वारा पर्यटनसम्बन्धी ‘हिँडे पुगिन्छ’ पुस्तकसमेत प्रकाशित छ ।

Share Now