Prakash Adhikari January 30, 2024
काठमाडौँ, १६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले परिणाम दिनेगरी काम गर्न नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिनुभएको छ ।
मन्त्री किराती सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोनमा मर्मत भइरहेको ट्विनओटर जहाजको निरीक्षणमा निस्कनुभएको थियो । उहाँले त्यही निगमको विद्यमान अवस्थालाई सुधारेर नतिजा निकाल्न निगम व्यवस्थापनलाई  ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले सन् २०१२ बाट ‘ग्राउन्डेड ट्विनअटर’ जहान मर्मत गरेर सेवामा ल्याउन निगम व्यवस्थापनले बिलम्ब गरेको  ध्यानाकर्षण गराउनुभएको हो।
्रग्राउन्डेड जहाज बनेमा निगमले तीन वटा ट्वीन ओटरको सेवा दिन सक्ने छ । निगमले   स्टल एअरपोर्टमा चल्ने तीन वटा जहाज किन्न टेण्डर गरिसकेको छ । मन्त्रीले निगमले छिट्टै ६ वटा जहाजले दुर्गम क्षेत्रमा सेवा दिने बताउदै आउनु भएको छ ।  ग्राउन्डेड जहाज मर्मतसंभारमा ढिलाई भएपछि मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको जहाज मर्मतस्थलमा अनुगमनका लागि पुग्नुभएको थियो ।
उहाँले आफूलाई जनताले काम गर्न निर्वाचित गरेको उल्लेख गर्दै “जनताले परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो ” भन्नुभएको थियो ।  पर्यटनमन्त्री किरातीले निगम व्यवस्थापनलाई सोध्नुभयो, “जहाज कहिलेसम्म बनि सक्छ ? यसको उत्तर चाहियो ? मलाई परिणाम चाहिएको हो । ” परिणाम दिन नसक्ने कर्मचारीलाई  निगममा राख्नुको औचित्य नभएको पनि बताउनुभयो ।
मन्त्री किरातीले आफूलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेको र प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिनुभएको जनाउँदै आफू देखिने गरी नतिजा दिन आतुर रहेको बताउनुभएको थियो ।
पर्यटनमन्त्रीका अनुसार निगम बोर्ड बैठकबाट करिब २० करोडसम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो । तद्अनुरुप काम हुन नसकेकोमा मन्त्री किरातीको गुनासो छ ।
मन्त्री किरातीले प्रत्येक हप्ता आफू निरीक्षणमा आउने र कार्ययोजनाअनुसार काम गरेर प्रगति विवरण आफूलाई पेस गर्न निगमलाई निर्देशन दिनुभएको छ ।
Share Now