Prakash Adhikari January 31, 2024

ब्लोमफोन्टेन (दक्षिण अफ्रिका), १७ माघ । आइसीसी यू १९ विश्वकप अन्तर्गत आज नेपालले सुपर सिक्स चरणको पहिलो खेल बंगलादेशसंग खेल्दै छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । बंगलादेश आजको खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्ने सुरमा हुनेछ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ ।

बंगलादेशले समूह चरणमा आयरल्याण्ड र अमेरिकालाई पराजित गरेको थियो । उसले भारतसँग भने हार बेहोरेको थियो ।

अब उसले सुपर सिक्सको खेलमा पाकिस्तानसँग खेल्न बाँकी छ । यस्तो अवस्थामा दुवै खेल जिते रनरेटको आधारमा बंगलादेश अघि बढ्ने सम्भावना रहन्छ ।

नेपालले भने सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित हुन पुग्यो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा स्थान बनाउन सफल भएको थियो ।

नेपालले यसअघि विश्वकपमा बंगलादेशसँग दुई पटक खेलेको छ । सन् २००२ मा २३ रनको जित दर्ता गरेको नेपालले सन् २०१६ को संस्करणमा भने हार बेहोरेको थियो ।

नेपाल सेमिफाइनल समीकरणबाट बाहिर

सुपर सिक्समा खेल्नुअघि नै नेपाल सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारत र पाकिस्तान बिजयी भएसँगै नेपाल बाहिरिन पुगेको हो । नेपालले सुपर सिक्समा २ खेल खेल्ने तालिका रहेको छ । तर अंकविहिन रहेको नेपालले दुवै खेल जितेपनि ४ अंक पुग्दछ । सुपर सिक्समा प्रवेश गरेका भारत र पाकिस्तान दुवैको समान ६ । ६ अंक भैसकेको छ । अब नेपालले बंगलादेश र भारतसंगको दुवै खेल जिते पनि नेपालको जम्मा ४ अंक हुन्छ ।

सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो रहेको छ । भारतले सुपर सिक्सको खेलमा न्युजिल्यान्डलाई २ सय १४ रनले हराएको हो । यस्तै पाकिस्तानले आयरल्यान्डविरुद्ध ३ विकेटको जित निकाल्यो ।

सुपर सिक्समा पुगेको टोलीको एक अर्काको नतिजा मात्र अघि बढ्दा अंक जोडिने थियो । यसकारण नेपालले समूह चरणमा अफगानिस्तानविरुद्ध हासिल गरेको जित सुपर सिक्समा गणना भएन । न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध हारको रनरेट भने गणना भएको छ ।

अब नेपालले बुधबार दिउँसो १ः४५ बजे बंगलादेशको सामना गर्नेछ । यस्तै शुक्रबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेल भारतको लागि शीर्षस्थानमा रहने वा छनोट हुनेको लागि महत्त्वपूर्ण हुन्छ ।

सुपर सिक्सको एक समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन् । नेपाल रहेको समूह १ मा भारत र पाकिस्तानको ३ खेलमा ६ । ६ अंक छ । बंगलादेशको २ खेलमा २ र न्युजिल्यान्डको ३ खेलमा २ अंक छ । नेपालले र आयरल्याण्डले अंक जोडेका छैनन् ।

दोस्रो समूहमा अष्ट्रेलियाको २ खेलमा ४ अंक छ । श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रीका र इंग्ल्यान्डको २ खेलमा समान २ । २ अंक छ । जिम्बाब्वेको भने २ खेलमा कुनै अंक छैन ।

Share Now