Prakash Adhikari February 1, 2024

 

वासिड.टन डीसी(संयुक्त राज्य अमेरिका), १८ माघ (बीबीसी) । सामाजिक सञ्जालका कारण आफ्ना बालबालिकालाई हानि पुगेको भन्ने परिवारहरूसँग मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले माफी माग्नुभएको छ। अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा भएको कडा सुनुवाइका क्रममा जुकरबर्गले क्षमायाचनासहित प्रतिक्रिया व्यक्त गर्नुभएको हो।

मेटाले इन्स्टाग्राम र फेसबुक सञ्चालन गर्छ।

जकर्बर्गले पीडित बालबालिकाका परिवारतिर फर्किएर कसैले पनि त्यस्तो भोग्नु नहुने बताउनुभएको थियो।

सिनेटमा मेटा, टिकटक, स्न्याप, एक्स र डिस्कर्डका प्रमुखसँग दुवै पार्टीका सांसदहरूले झन्डै चार घण्टा सोधपुछ गरेका थिए।

सांसदहरूले बालबालिकालाई अनलाइनबाट जोगाउन ती कम्पनीले के गरेका छन् भन्दै प्रश्न सोधेका थिए।

प्रविधि कम्पनीका प्रमुखलाई अमेरिकी सिनेटरहरूले त्यसरी प्रश्न सोध्ने अवसर विरलै पाउँछन्।

जुकरवर्ग र टिकटकका सीईओ शो जी चू दुवै जना स्वेच्छापूर्वक बयान दिन सहमत भएका थिए। तर स्न्याप, एक्स र डिस्कर्डका प्रमुखहरूले सुरुमा सुनुवाइमा उपस्थित हुन अस्वीकार गरेका थिए। त्यसपछि सरकारले संसदीय सुनुवाइमा उपस्थित हुन उनीहरूलाई लिखित निर्देशन दिएको थियो।

सुनुवाइका क्रममा पाँच कम्पनीका प्रमुखभन्दा पछाडि सामाजिक सञ्जालमा प्रेषित सामग्री हेरेर आफूलाई हानि पुर्‍याएका वा आत्महत्या गरेका बालबालिकाका परिवारजन बसेका थिए।

उनीहरूले सुनुवाइको पूरै अवधिभरि विभिन्न किसिमले आफ्ना भावना अभिव्यक्त गरेका थिए। सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीका प्रमुख आइपुग्दा उनीहरूले ठूलो आवाज निकालेका थिए भने सांसदहरूले कडा प्रश्न सोध्दा ताली बजाएका थिए।

उक्त सुनुवाइ विशेष गरी बालबालिकालाई कसरी अनलाइन यौन शोषणबाट जोगाउने भन्नेमा केन्द्रित थियो। तर पाँचवटा सञ्जालका शक्तिशाली प्रमुखहरू शपथ लिएर सुनुवाइका लागि उपस्थित भएको अवसरको सदुपयोग गर्दै सांसदहरूले विभिन्न किसिमका प्रश्न सोधेका थिए।

टिकटकका चूलाई के उहाँको कम्पनीले अमेरिकी प्रयोगकर्ताको विवरण चीन सरकारलाई दिन्छ भनेर सोधिएको थियो। उहाँले टिकटकले त्यसो नगर्ने बताउनुभयो। टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइटड्यान्ससँग छ।

सिनेटर टम कटनले चूलाई उहाँ चिनियाँ कम्युनिस्ट पार्टीसँग आबद्ध भए नभएको प्रश्न गर्नुभयो। चू सिङ्गापुरका हुनुहुन्छ।

‘सिनेटर, म सिङ्गापुरको नागरिक हुँ’ , भन्दै उहाँले आफू चिनियाँ कम्युनिस्ट पार्टीसँग कहिल्यै आबद्ध नभएको बताउनुभयो।

आफू तीन सन्तानको पिता भएको र छलफल गरिएको विषय ूसबै बावुआमाका लागि भयानक र दुःस्वप्नसरहू भएको आफूलाई थाहा भएको उहाँले बताउनुभयो।

उहाँले आफ्नै सन्तानले टिकटक नचलाउने कुरा पनि स्वीकार गर्नुभयो। सिङ्गापुरमा १३ वर्षमुनिका बालबालिकाले टिकटक चलाउन पाउँदैनन्।

मार्क जकर्बर्गलाई धेरै प्रश्न

तर सबैभन्दा धेरै प्रश्न मेटाका कार्यकारी प्रमुख जकर्बर्गलाई सोधियो। संसद्‌मा उहाँ आठौँ पटक उपस्थित हुनुभएको हो।

इन्स्टाग्राममा प्रयोगकर्तालाई बालयौन दुर्व्यवहारसँग सम्बन्धित सामग्री हुन सक्ने चेतावनी दिइएको एउटा सूचना देखाउँदै रिपब्लिकन सिनेटर टेड क्रूजले जकर्बर्गलाई आक्रोशपूर्ण स्वरमा सोध्नुभयो, “तपाईँले के सोच्नुभएको थियो?” उक्त सूचनामा त्यो सामग्री जस्तो भए पनि हेर्न तयार छु भन्ने सहमति व्यक्त गर्नुपर्छ।

जकर्बर्गले “ब्लक गर्नुभन्दा” त्यस्तो सूचना प्रायः सहयोगी हुने गरेको र अन्य उपयोगी सामग्रीतिर मोडिन सघाउने भएकाले त्यसो गरिएको तर्क गरे। उहाँले उक्त विषयमा आफैँले हेर्ने वचनबद्धता पनि व्यक्त गर्नुभयो।

अर्का रिपब्लिकन सिनेटर जोस हलीसँगको सबालजबाफमा जुकरवर्गलाई उहाँको पछाडि बसिरहेका परिवारहरूसँग माफी माग्न भनिएको थियो।

उहाँ उठ्नुभयो दर्शकदिर्घातिर फर्किनुभयो र भन्नुभयो, “तपाईँहरू जुन परिस्थितिबाट गुज्रिनुपर्‍यो त्यसका लागि माफी चाहन्छु। यो एकदमै भयानक हो।तपाईँहरूका परिवारले जे भोग्नुभयो त्यो परिस्थितिबाट कोही पनि गुज्रिनु नपरोस्।”

सिनेटरहरूको आक्रोश

सामाजिक सञ्जालमा प्रेषित सामग्रीप्रति सम्बन्धित कम्पनीलाई उत्तरदायी बनाउने उद्देश्यको कानुन अहिले अमेरिकी कङ्ग्रेसमा विचाराधीन छ। संसदीय सुनुवाइको केन्द्रमा उक्त कानुनप्रति कम्पनीहरूको धारणा थियो।

डिस्कर्डका जेसन सिट्रन र रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमबीच भएको चर्को वादविवादमा त्यसको झल्को पाइएको थियो।

ग्राहमले अनलाइन सुरक्षाबारे कङ्ग्रेसमा विचाराधीन विधेयकहरूको सूची देखाउँदै सिट्रनले ती विधेयकलाई समर्थन गर्छन् कि गर्दैनन् भनेर सोध्नुभयो। ग्राहमले उहाँलाई प्रतिक्रिया व्यक्त गर्न पर्याप्त अवसर नदिएको भए पनि सिट्रनले ती विधेयकप्रति आफ्नो मतभिन्नता रहेको जनाउ दिनुभएको थियो।

ग्राहमले आफ्नो निष्कर्ष सुनाउनुभयो, “यी मानिसले समस्या समाधान गर्छन् भन्ठान्नुभएको छ भने कुर्दाकुर्दै हाम्रो जीवन बित्छ।”

सुनुवाइबाट के प्राप्त भयो ?

सामाजिक सञ्जाल उद्योगका विश्लेषक म्याट नभाराले यो सुनुवाइ पहिलाका अरू धेरै वादविवादजस्तै भएको आफूलाई लागेको बताउनुभएको छ। यो सुनुवाइ ूधेरै राजनीतिक भाषणू गर्ने र जकर्बर्गको क्षमायाचनाले तस्बिर खिच्ने राम्रो अवसर बनेको उहाँ ठान्नुहुन्छ।

सामाजिक सञ्जालहरूलाई नियमन गर्न दुवै पार्टीको सहमति भएको विधेयक आवश्यक रहेकोमा सिनेटरहरू सहमत भए पनि अब के हुन्छ भन्ने अस्पष्ट रहेको उहाँले बताउनुभयो ।

“हामीले यस्तो खालको सुनुवाइ पटकपटक देखेका छौँ र अहिलेसम्म तिनले कुनै महत्त्वपूर्ण वा उल्लेख्य नियमन गर्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “हामी सन् २०२४ मा छौँ र सुनुवाइका क्रममा औँल्याइए झैँ समाजिक सञ्जाल कम्पनीको सन्दर्भमा अमेरिकामा कुनै नियमन छैन।”

 कसरी हुन्छ मोडरेशन
सामाजिक सञ्जाल कम्पनीका प्रमुखहरूले आफ्ना मञ्चमा प्रेषित सामग्री अनुगमन गरेर आवश्यकता हेरी मोडरेशन गर्न खटाइएका कर्मचारीबारे पनि बोलेका छन्।

धेरै प्रयोगकर्ता भएका मेटा र टिकटकले आफूहरूसँग मोडरेशनको काममा ४०,००० जना रहेको बताएका छन्। त्यसबाहेक स्न्यापले २,३०० जना र एक्सले २,००० जनाले त्यो काममा राखेको बताएका छन्।

डिस्कर्डले भने सानो कम्पनी भए पनि “सयौँ” मोडरेटर रहेको बताएको छ।

डिस्कर्ड सन्देश पठाउने प्ल्याट्फर्म हो। विगतमा डिस्कर्डलाई त्यसले बाल दुर्व्यवहार पहिचान गर्छ र बालबालिकालाई जोगाउँछ भन्ने प्रश्न सोधिएको थियो।

गत नोभेम्बर महिनामा कङ्ग्रेसले गरेको एउटा सुनुवाइका क्रममा बोल्दै आर्टुरो बेहारले मेटाले इन्स्टाग्राममा बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन पर्याप्त काम नगरेको बताउनुभएको थियो ।

पीडित पक्षको माग

सुनुवाइपछि कैयौँ अभिभावकहरूले बाहिर निस्किएर कम्पनीहरूलाई उत्तरदायी बनाउने विधेयक तत्काल पारित गर्न माग गर्दै र्‍याली निकालेका थिए।

“मैले जस्तै धेरै आमाबुवाले अहिले हामीले चर्चा गरिरहेको जस्तै हानि भोलि आफूलाई नपुगोस् भन्ठानेका छन्”, सन् २०१९ को मे महिनामा छोरा मेसन गुमाएकी जोआन बागर्डले भन्नुभयो। उहाँका छोरा टिकटकमा चलेको सास रोक्ने एउटा चुनौतीमा सहभागी हुनुभएको थियो।

“हाम्रा सामान्य बालबालिकामा अकस्मात् यस्तो हानि पुगिरहेको छ”, उहाँले भन्नुभयो, “हामीसँग प्रमाण छ। अब हाम्रा सांसदहरूले ुकिड्स अनलाइन सेफ्टी एक्टु पारित गर्ने समय आएको छ।”

असरका अलग पाटो

सन् २०२३ को नोभेम्बरमा कङ्ग्रेसमा बयान दिएका मेटाका एक भूतपूर्व वरिष्ठ कर्मचारी आर्टुरो बेहार पनि बुधवारको सुनुवाइमा उपस्थित हुनुहुन्थ्यो।

बीबीसीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मेटाले किशोरकिशोरीलाई सुरक्षित वातावरण प्रदान गर्ने जिम्मेवारी अभिभावकतिर सार्न खोजिरहेको छ, तर कुनै किशोरले आफूसँग अवाञ्छित लाभ लिन खोजिएको महसुस आफूलाई भएको जनाउ दिने बटन भने राख्ने छैन।”

बेहारले मेटामा सन् २००९ देखि २०१५ सम्म र फेरि २०१९ देखि २०२१ सम्म काम गर्नुभएको थियो।

त्योबिना उनीहरू कसरी किशोरकिशोरीका लागि सुरक्षित ठाउँ बनाउन सक्लान्?

यद्यपि मेटाले किशोरकिशोरीलाई अनलाइनमा सुरक्षित वातावरण बनाउन सघाउन “३० वटाभन्दा बढी टूल” ल्याएको बताएको छ।

Share Now