ललितपुर, २५ बैशाख । अखिल नेपाल फुटबल संघ(एन्फा)को नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको बैठकले विभिन्न १५ बुँदे निर्णय गर्दै एन्फा महासचिव र कोषाध्यक्ष, मानार्थ अध्यक्ष तथा मानार्थ वरिष्ठ उपाध्यक्षको मनोनयन गरेको छ।
बैठकले एन्फाको महासचिवमा पुर्व सिइओ इन्द्रमान तुलाधरलाई नियुक्त गरेको छ भने कोषाध्यक्ष्मा पुर्व सह–कोषाध्यक्ष रविन्द्र जोशीलाई नियुक्त गरेको छ।
बैठकले एन्फा बिधान अनुसार मानार्थ अध्यक्षमा टासी घले दोस्रो कार्यकालका लागि नियुक्त गरेको छ । मानार्थ बरिष्ठ उपाध्यक्षमा पूर्व उपाध्यक्ष किशोर राई तथा मानार्थ उपाध्यक्ष तथा आर्थिक समितिको संयोजकमा सरस्वती क्लवका अध्यक्ष शिक्षित पराजुलीलाई नियुक्त गरेको छ।
साथै बैठकले अन्तर्रा्ष्ट्रिय सम्बन्ध प्रमुख तथा सल्लाहकार समितिको संयोजकमा नवीन पाण्डे र प्रवक्तामा केन्द्रीय सदस्य किरण राईलाई नियुक्त गरेको छ।
सोमबार सम्पन्न बैठकले पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाल प्रहरीका पूर्व एआईजी बिज्ञानराज शर्माको नेतृत्वमा लिग कमिटी गठन गरेको छ।
समितिलाई लिगको ढाँचा तथा सम्बन्धित क्लबहरुसँग छलफल गरेर लिगको मितिका निर्धारणको विषयलाई १० दिन भित्र टुंग्याउने अधिकार दिएको छ।
साथै एन्फाका एकेडेमीहरु तत्काल सञ्चालन गर्ने, अनुशासन समिति र पुनरावेदन समिति निर्माण गर्ने तथा ग्रासरुट फुटबल विकास गर्ने लगाएतका लागि जिम्मेवारी पनि प्रदान गरिएको छ।
बैठकले एन्फामा आबद्ध जिल्ला संघहरुको सहभागितामा जिल्ला लिग, प्रदेश प्रतियोगिता र केन्द्रमा एन्फा प्रेसिडेण्ट कप फुटबल प्रतियोगिता सञ्चालन गर्न आवश्यक तयारीका लागि अध्यक्ष शेर्पालाईनै जिम्मेवारी दिएको छ।
साथै उसले भूकम्पले क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माण प्रक्रिया चुस्त बनाउन सरकारी निकायलाई दवाव दिने निर्णय पनि बैठकले गरेको छ।