Prakash Adhikari February 5, 2024

काठमाडौं, २२ माघ । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो(सीबीआई)ले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिनामा संलग्न भएको आरोपमा गिरफ्तार गरिएका तीन जनालाई अनुसन्धानको लागि थप २ दिन हिराशतमा लिने अनुमति लिएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीबीआईले तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा, च्याम्पियन सुका सञ्चालक अरुण चौधरी र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको हो ।

प्रहरीले उनीहरुलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो ।

यो अवधिमा प्रहरीले तीनै जनाको बयान सकेको छ । तर, थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले फेरि अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएको थियो ।

बयानका क्रममा चौधरीले कानूनी विपरित भए आफू जग्गा फिर्ता गर्न तयार रहेको बताउनुभएको थियो । तत्कालीन बाँसबारी कारखानाका अध्यक्ष थापाले पनि आफूले गरेको निर्णय कानून विपरित भएको थाहा नभएको बताउनुभएको छ । ‘कानून विपरित हो भन्ने भएको भए निर्णय गर्ने थिइनँ’, ८० वर्षीय थापाले भन्नुभएको छ ।

यो प्रकरणमा पक्राउ परेका तीनै जनालाई स्वास्थ्य कारण देखाउँदै ग्राण्डी अस्पतालमा राखिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पत्रकार सम्मेलन गरेर तीन महिना लामो अनुसन्धानपछि १० रोपनी जग्गा हिनामिना गरेको देखिएको दाबी गरेको थियो ।

ब्यूरोले संकलन गरेको कागजात र प्रमाणका आधारमा तीनैजना लाई थप अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले बताउनु भएको छ ।

 

 

Share Now