निरञ्जन राजवंशी
काठमाडौं, २२ माघ(बीबीसी) । भारत सरकार वा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआ( ले नेपाली क्रिकेटलाई सहयोग नगरेको गुनासो बारम्बार सुन्ने गरिन्छ।
हुन त नेपाली क्रिकेटमा भारतीय सहयोगको प्रभाव पनि देखिएको थिएन।
राष्ट्रिय क्रिकेट टोलीले चढ्ने बस भारत सरकारले सहयोग गरेको हो। त्यो पहेँलो बस देखेपछि कतिपय क्रिकेटप्रेमीहरू भारतले नेपाली क्रिकेटलाई जिस्क्याएको बताउने गर्छन्।
यद्यपि भारतले नेपाली क्रिकेटलाई सहयोग गर्ने वचन भने प्रायः दिँदै आएको छ।
सन् २०१४ मा नेपालले टी २० विश्वकप खेलेपछि भारतीय मिडियाले भारतले अब अफगानिस्तानपछि नेपाललाई सहयोग गर्नुपर्ने समाचार प्रमुखताका साथ छापेका थिए।
नेपालले पछिल्लो समय भारतविरुद्ध एशिया कपमा ुस्तरीयु प्रदर्शन गरेपछि भारतका पूर्वखेलाडी आकाश चोपडाले नेपाली टिमलाई भारतीय घरेलु क्रिकेटमा समेट्नुपर्ने आवाज उठाएका थिए।
विदेशमन्त्री एस जयशङ्करको भेट
यसै चर्चाका माझ गत पुस महिनामा भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग भेट्ने इच्छा गर्नुभयो।
अचानक आएको सूचनापछि नेपाल क्रिकेट सङ्घका पदाधिकारीहरू केही राष्ट्रिय टोलीका खेलाडीसहित एउटा होटलमा उहाँलाई भेट्न पुगेका थिए।
उक्त भेटमा विदेशमन्त्री जयशङ्करले नेपाली क्रिकेटको पछिल्लो उपलब्धिहरूप्रति खुसी जनाउँदै नेपाली क्रिकेटको विकासमा सघाउन भारत इच्छुक रहेको बताउनुभएको थियो। नेपाल क्रिकेट सङ्घका पदाधिकारीरूका अनुसार सो भेटमा क्रिकेटको केकस्तो क्षेत्रमा सहयोग हुन सक्ने भन्ने विषयमा छलफल भएको थियो।
छलफलका विषयलाई प्रस्तावका रूपमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)मा पठाउन विदेशमन्त्री जयशङ्करले सुझाउनुभएको थियो।
त्यसलगत्तै नेपाल क्रिकेट सङ्घले बीसीसीआईलाई पत्र पठाएको क्यानले जनाएको छ।
क्यानका सचिव पारस खड्काले बीबीसीसँग भन्नुभयो, “उक्त भेटपछि तत्कालै क्यानले बीसीसीआईलाई सहयोगको पत्र बुँदागत रूपमा पठायो।”
इन्डोनेशियाको ‘साइडलाइन’ मिटिङको आशा
इन्डोनेशियाको बालीमा यही माघ १७ गते भएको एशियाली क्रिकेट परिषद् (एसीसी)को बैठकमा एसीसीका अध्यक्ष जय शाह तथा क्यान पदाधिकारीहरूबीच ‘साइडलाइन’ वार्ता भएको थियो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र एसीसीका अध्यक्ष जय शाहबीच भएको सो भेटमा शाहले क्यानको प्रस्तावमा भारतीय सरकार निकै सकारात्मक रहेको जबाफ दिएको अधिकारीहरूले बताएका छन्।
भारतका प्रभावशाली गृहमन्त्री अमित शाहका छोरा जय शाह हाल बीसीसीआईका सचिव हुनुहुन्छ।
उक्त भेटमा भएको कुराकानी बारे बताउँदै क्यानका सचिव पारस खड्काले भन्नुभयो, ूउहाँले भारत सरकार हाम्रो अधिकांश कुरामा सहमत भएको र त्यसबारे छलफल चलिरहेको बताउनुभयो। चाँडै नै नेपाली क्रिकेटले भारतबाट राम्रो सहयोग पाउनेमा हामीलाई विश्वास छ।ू
सचिव खड्काले क्यानले सहयोगकालागि पठाएको पत्रमा विभिन्न विषयहरु उल्लेख भएको र ती सबै पूरा हुने नहुनेबारे पछि मात्र बताउने भनेका छन्।
तर भारतीय सञ्चार माध्यम ‘द टाइम्स अफ इन्डिया’मा छापिएको पीटीआईको समाचारअनुसार भारतले नेपालका १९ वर्षमुनि उमेर समूहका युवा खेलाडीहरूको क्षमता विकासमा सहयोग गर्ने, पूर्वाधार निर्माण र टी २० विश्वकप खेल्न जाने राष्ट्रिय टोलीको प्रशिक्षणमा सघाउन लागेको छ।
उसले लेखेको छ, “यदि सबै कुरा ठिक भएमा अमेरिका वेस्ट इन्डिजमा आगामी जुन महिनामा हुने टी २० विश्वकपअगाडि नेपालको सिनिअर टोलीले भारतमा गएर प्रशिक्षण लिने र केही वार्मअप म्याच खेल्ने सम्भावना छ।”
त्यस्तै भारतको बेङ्गलुरुमा राष्ट्रिय क्रिकेट एकेडेमीको सुविधाको लागि नेपालले भनेको छ। त्यहाँ चोटको व्यवस्थापन तथा पुनर्जागरण कार्यक्रम गर्न सकिन्छ जुन सुविधा नेपालमा राम्रो छैन।
नेपालको प्रस्तावमा थप के थियो ?
नेपालको एक संसदीय समितिका सदस्यहरूले हालै मुम्बईस्थित वानखेडे रङ्गशालाको भ्रमण गरेका छन् ।
क्यानले यू १९ र राष्ट्रिय ए टीमका लागि भारतको यू १९ वा सिनिअर स्टेट टोलीसँग अभ्यास खेल्ने वातावरण मिलाइदिन आग्रह गरेको सो पत्रिकाले जनाएको छ।
सचिव खड्काले एसीसीको बैठकमा भारतीय उपमहाद्वीपका देशहरूसँग नेपाली क्रिकेटलाई साथ दिन प्रस्ताव राख्नुभएको थियो।
उहाँले भन्नुभयो, ” दक्षिण एशियामा पाँच वटा टेस्ट खेल्ने र तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त देश छन्। रङ्गशाला निर्माण जस्ता विषयमा सहयोग गर्न गाह्रो होला, तर अपकमिङ क्रिकेट राष्ट्र नेपालसँग प्रतियोगिता खेल्न, लगानी गर्न र विभिन्न विषयमा सहयोगका लागि हामीले प्रस्ताव राखेका छौँ। धेरै राष्ट्र सकारात्मक छन्।”
इतिहास हेर्दा भारतले सहयोग गरेपछि बाङ्ग्लादेश, श्रीलङ्का र अफगानिस्तानले क्रिकेटमा चाँडै नै प्रगति गर्न सकेको देखिन्छ।
छिमेकी राष्ट्रको हिसाबले भारतले चाहेमा नेपाली क्रिकेटको विकासमा थुप्रै कार्य गर्न सक्ने विश्वास गरिँदै आएको छ।


















