Prakash Adhikari February 6, 2024
काठमाडौँ, २३ माघ : चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो ।
गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५. ३ प्रतिशतले बढेर रु ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७ हजार ९ सय ७० र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार ४ सय ३५ रहेको छ ।
यो अवधिसम्ममा शोधनान्तर स्थिति रु २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ । कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । सरकारको खर्च रु ५ खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु ४ खर्ब ९६ अर्ब ५० करोड रहेको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ ।
पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ६.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ .९ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम भएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति५.२६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने सरकारको लक्ष्य छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५. ७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ .८५ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकाङ्कमासमेत क्रमशः कमी आइरहेको देखिएको छ । “वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धिदरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मकरुपमा कम दबाब पर्न गएको छ”, राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनेको छ ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३ दशमलव ०७ प्रतिशत, एक दशमलव ०४ प्रतिशत र शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क भने ३५ दशमलव ६० प्रतिशतले बढेको छ । त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ११ दशमलव ३८ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव २९ प्रतिशत र फलपूmलको १० दशमलव १५ प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क एक दशमलव ६२ प्रतिशतले घटेको छ । मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ८४ प्रतिशत, विविध वस्तु तथा सेवाको नौ दशमलव ७३ प्रतिशत, शिक्षाको आठ दशमलव ९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव १८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको चार दशमलव ९६ प्रतिशतले बढेको छ ।
गत पुस महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ७६ प्रतिशत छ । यो अवधिमा तराईको मूल्यवृद्धि चार दशमलव ७८ प्रतिशत, पहाडको पाँच दशमलव ४० प्रतिशत र हिमालको छ दशमलव ५७ प्रतिशत छ ।
चालु आर्थिक वर्षको पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति नौ दशमलव ८२ प्रतिशत रहेको थियो, गत पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति छ दशमलव १६ प्रतिशत, मध्यवर्ती वस्तुको एक दशमलव ९९ प्रतिशत र पुँजीगत वस्तु दुई दशमलव ७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति एक दशमलव ०८ प्रतिशतले घटेको छ ।
यो अवधिमा आयात तीन दशमलव एक, निर्यात सात दशमलव दुई प्रतिशत र कूल वस्तु व्यापार घाटा दुई दशमलव छ प्रतिशतले घटेको छ ।
Share Now