Prakash Adhikari February 6, 2024

सन कख्लान/ शाही संवाददाता

लण्डन(संयुक्त अधिराज्य), २३ माघ । बेलायतका राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ।

प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रोस्टेट क्यान्सर नभएको जनाइएको छ।

क्यान्सरको प्रकार खुलाइएको छैन। तर दरबारले प्रकाशित गरेको वक्तव्यअनुसार राजाले सोमवारबाट नियमित उपचार थाल्नुभएको छ।

पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुनुहुने छैन। उहाँको उपचारको समयमा रानी क्यामिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्नुहुनेछ।

राजा पूर्ण सकारात्मक

तर बकिङ्गम दरबारले राजा आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको जनाएको छ।

बकिङ्घम दरबारको विज्ञप्ति
बकिङ्घम दरबारको विज्ञप्ति

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्व भने निर्वाह गरिरहनु हुनेछ।

आइतवार उहाँलाई स्यान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थानासभामा देखिएको थियो। त्यहाँ राजाले मानिसहरूतिर हेरेर हात हल्लाउनुभएको थियो ।

राजा चाल्र्सले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रोस्टेटको उपचार गराउनुभएको थियो।

प्रस्टेट क्यान्सर होइन

राजाले आफ्नो प्रोस्टेट उपचारलाई सार्वजनिक गर्ने निर्णय अरू मानिसहरूलाई पनि प्रोस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले लिएको बताइएको छ।

उहाँले आफू यसबारे चेतना जगाउन पाउँदा प्रसन्न भएको बताइरहँदा ब्रिटेनको स्वास्थ्य संस्था एनएचएसको वेबसाइटका अनुसार प्रोस्टेटसँग सम्बन्धित समस्यामा वृद्धि भएको देखिएको छ।

यो प्रोस्टेट क्यान्सर नभएको बुझिएको छ तर प्रोस्टेट बढेको उपचार गराउने क्रममा पत्ता लागेको हो।

राजा चार्ल्सको उपचार जारी रहने छ। क्यान्सर प्रारम्भिक चरणमा नै हुँदा पत्ता लागेको विश्वास गरिएको छ।

अस्पतालबाट बाहिरिँदै रानी क्यामिला। उहाँ राजा चार्ल्ससँगै मध्यलन्डनस्थित अस्पताल जानुभएको थियो ।

सार्वजनिक कार्यक्रमबाट पर

राजा चार्ल्स सार्वजनिक गतिविधिमा सहभागी हुनुहुने छैन। उनको उपचारको क्रममा रानी क्यामिला एवं राजकुमार विलियमले उहाँका दायित्वहरू निर्वाह गर्नुहुने छ।

तर ७५ वर्षका राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक दायित्वलाई भने निरन्तरता दिनुहुने छ।

आइतवार उहालाई स्यान्ड्रिङ्गमस्थित एउटा गिर्जाघरको प्रार्थनासभामा देखिएको थियो। त्यहाँ उहाले भिडतिर हात हल्लाउनुभयो।

एक साताभन्दा केही समयअघि लन्डनस्थित एउटा निजी अस्पतालमा प्रोस्टेटको उपचार गराएका राजा चार्ल्स अहिले स्वास्थ्यलाभ गरिरहनुभएको थियो।

राजाले आफ्नो प्रस्टेट उपचारलाई सार्वजनिक गर्ने निर्णय अरू मानिसहरूलाई पनि प्रस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले लिएको बताइएको छ।

क्यान्सरको उपचारमा कीमोथेरपी पनि संलग्न हुन सक्छ‌। त्यसमा क्यान्सरको कोष मार्नका लागि औषधि दिने गरिन्छ।

त्यसै गरी रेडिओथेरपी विधिबाट उपचार गराउँदा विकिरण दिएर क्यान्सरका कोषहरूलाई नष्ट गरिन्छ।

त्यसबाहेक क्यान्सरविरुद्ध निश्चित औषधिहरू पनि दिने गरिन्छ जसले क्यान्सर लागेका कोषहरू पत्ता लगाएर तिनलाई नष्ट गर्छन्।

यूकेका राजा चार्ल्सको स्वास्थ्यः यस्तो छ घटनाक्रम

यूकेका राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको छ। प्रस्टेट बढेपछि उपचार गराइरहँदा क्यान्सर निदान भएको तर त्यो प्रस्टेटको क्यान्सर नभएको बताइएको छ।

बकिङ्गम दरबारले ७५ वर्षे राजा आफ्नो उपचारबारे पूर्ण रूपमा सकारात्मक रहेको र यथासम्भव चाँडो पूर्ण सार्वजनिक जिम्मेवारीमा फर्किने उहाँले अपेक्षा गर्नुभएको जनाएको छ।

यो घोषणा राजाको स्वास्थ्यस्थितिबारे समाचार प्रकाशित भएको दुई साताभन्दा बढी समयपछि आएको हो।

के भएको हो भन्ने घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ।

घटनाक्रम

१७ ज्यानुअरी
बकिङ्गम दरबारले राजा चार्ल्स तृतीयको प्रस्टेट बढेकाले उहाँ उपचार गराउन अगामी साता अस्पताल जान लागेको घोषणा गर्‍यो।

१८ ज्यानुअरी
एबर्डीन आर्ट ग्यालरीको भ्रमणको क्रममा रानी कमिलाले राजा ठिक रहेको र काममा फर्किने प्रतीक्षामा रहेको बताउनुभयो।

१९ ज्यानुअरी
राजा चार्ल्स स्कटल्यान्डबाट विमान चढेर फर्किनुभयो अनि उपचार सुरु गर्नुअघि आराम गर्न नोर्फोकस्थित स्यान्ड्रिङ्गम जानुभयो।

२५ ज्यानुअरी
लन्डन फर्केर उपचारका लागि तयार हुनुअघि राजाले केम्ब्रिज विश्वविद्यालयका प्राज्ञहरूसँग स्यान्ड्रिङ्गम हाउसमा भेट गर्नुभयो।

२६ ज्यानुअरी
राजा चार्ल्स लन्डन क्लिनिकमा भर्ना हुनुभयो। त्यहाँ उहाँको प्रोस्टेटको उपचार गरियो। “उहाँलाई राम्रो भइरहेको छ,” रानी कमिलाले राजा चार्ल्सबारे भन्नुभयो।

२९ ज्यानुअरी
राजा चार्ल्स तीन रातपछि अस्पतालबाट फर्किनुभयो। बकिङ्गम दरबारले व्यक्तिगत स्वास्थ्यलाभका लागि समय चाहिने भन्दै राजाले सार्वजनिक कार्यक्रमहरू स्थगित गर्नुपरेको जनायो।

३१ ज्यानुअरी

रानी क्यामिलाले अस्पतालको उपचारपछि आफ्ना पति निको भइरहेको बताउनुभयो ।

४ फेब्रुअरी
राजा र रानी स्यान्ड्रिङ्गमस्थित एउटा गिर्जाघरमा उपस्थित हुनुभयो। उपचार गरेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएका राजा चार्ल्सले त्यहाँ शुभचिन्तकहरूलाई हात हल्लाउनुभएको थियो।

५ फेब्रुअरी
बकिङ्गम दरबारले हालैको उपचारका क्रममा राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको घोषणा गर्‍यो। कुन प्रकारको क्यान्सरको भन्ने खुलाइएको छैन। तर बकिङ्गम दरबारको विज्ञप्तिअनुसार राजाले नियमित उपचार सुरु गरिसक्नुभएको छ ।

Share Now