Prakash Adhikari February 6, 2024
काठमाडौँ, २३ माघ : नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिनुभयो । पूर्वमन्त्री बुढाथोकीको माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
कांग्रेसले पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका स्वर्गीय बुढाथोकीप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित माघ १३–२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको हो ।

नेपाली कांग्रेसको आज बसेको आकस्मिक बैठकद्वारा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीप्रति सम्मान प्रकट गर्दै माघ २३, २४ र २५ गते (तीन दिन) सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले उहाँको निधनमा माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय पनि भएको छ भने उहाँको स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

Share Now