Prakash Adhikari February 8, 2024

 

काठमाडौं, २५ माघ । आगामी वैशाख १२ गतेदेखि काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल)इप्पान)ले बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसको संयुक्त आयोजनामा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्न लागिएको जानकारी हो । इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारासहित हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागेको जनाएको छ ।

सन् २०३५ सम्मभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र सरकारले निर्माण गरेको अवस्थामा यस्तो एक्स्पोले समग्र ऊर्जा क्षेत्रको विकासमा महत्वपूण हुने अपेक्षा आयोजकको रहेको छ ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले निजी क्षेत्रबाट हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको बताइएको छ ।

नेपालमा उत्पादित विद्युतको खपत वृद्धि र निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा आयोजकको रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले दिगो,समावेशी,हरित,पहुँचयोग्य र प्रतिफलयुक्त उर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी,पुँजी संकलन,व्यवस्थापन लगायत ७ विषयमा अन्तरक्रिया हुने जानकारी दिनुभयो ।

एक्स्पोमा चीन,भारत,क्यानडा,नर्वे,दक्षिण कोरिया,जर्मनी,बुल्गेरिया,चेक रिपब्लिक इटली,स्वीडेन,बेलायत र ब्राजिल लगायत देशका कम्पनी तथा सरोकारवाला निकायहरु सहभागी हुने उहाँको भनाइ छ ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर गरी तीन दिनमा ५० हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा रहेको खतिवडाले बताउनुभएको छ ।

त्यस्तै,इप्पानका अध्यक्ष गणेश कार्कीले सन् २०३५ सम्म १३ हजार मेगावाट विद्युत खपत गर्ने लक्ष्य रहेकोले विद्युत उत्पादनमा जोड दिनुपर्ने अवस्था रहेको बताउनुभयो।

उहाँले १० वर्षमा १० हजार मेगावाट बिजुली भारत सरकारले किन्ने सम्झौता भएको छ तर १० हजार मेगावाट विद्युत उत्पादन गर्ने विषय गम्भीर रहेको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष कार्कीले एक्स्पोमा १३ हजार मेगावाट विद्युत मुलुकभित्रै खपत गर्ने उपायको खोजी गरिने जानकारी पनि दिनुभयो ।

नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत निर्यात गर्न समस्या पर्ने अवस्था नभएको उहाँको भनाइ छ । अध्यक्ष कार्कीले राज्यको सक्रियतामा नीतिगत सुधार गरिदिए निजी क्षेत्रलाई सँगै लैजाने हो भने ३० हजार मेगावाट निर्यात गर्न सकिने दाबी गर्नुभयो । उहाँले विद्युत उत्पादन,खपत र निर्यातको लागि सरकारले सबैभन्दा पहिला नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

एक्स्पोमा २०० भन्दा बढी स्टलहरु रहने छन् । २०० मध्ये ५० प्रतिशत स्वदेशी स्टल रहने आयोजकहरुले जनाएका छन् । एक्स्पोमा सहभागिताको लागि बुधवारदेखि स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकहरुले दिएका छन् ।

Share Now