मस्को(रुस), ४ फागुन (बीबीसी) । रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले जनाएको छ।
उहाँलाई केही समयदेखि ठाउँसारी गरेर आर्क्टिक सर्कल जेल राखिएको थियो।
रुसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिनुभएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो।
कतिपयले उहाँलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए।
उहाँलाई गत वर्ष मात्रै निकै कठोर जेलमध्येको आर्क्टिक पेनल कोलोनीमा सारिएको थियो।
रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युको खबरबारे राष्ट्रपति पुटिनलाई ूजानकारी गराइसकिएकोू बताउनुभएको छ।
नभाल्नी एक दिन अघि अदालती सुनुवाइका क्रमको एक भिडिओमा देखा पर्नुभएको थियो । त्यसबेला उहाँ ठिकै देखिनुका साथै हाँसिरहनुभएको थियो।
जेल प्रशासनले उहाँ शुक्रवार हिँडेपछि बिरामी भएको जनाएको छ। “उहाँ तत्कालै अचेत हुनुभयो,” जेलका एक जना अधिकारीले भन्नुभएको छ।
उहाँको उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको छ।
“आपत्कालीन चिकित्सकहरूले कैदीको मृत्यु भएको घोषणा गरेका छन्। मृत्युको कारण पहिचानको प्रयास भइरहेको छ,” जेल प्रशासनका अधिकारीले भनेका छन्।
नभाल्नीका वकिलले रुसी सञ्चा माध्यमहरूसँग तत्कालै यसबारेमा प्रतिक्रिया नदिने बताएका छन्।
नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो।
साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उहाँ बिरामी पर्नुभएको थियो र जहाजले आपत्कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउमा परेयता उहाँ हिरासतमा हुनुहुन्थ्यो।
नभाल्नीले आफूमाथि स्नायु विष हमला भएको बारे लगाएको आरोप सही भएको केही खोज पत्रकारहरूको अनुसन्धानले देखाएको थियो।
नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुनुहुन्थ्यो। हाल ४७ वर्षका नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आउनुभएको थियो।
उहाँ भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि हुनुहुन्थ्यो ।
सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उहाँ उम्मेदवार बन्न खोज्नुभएको थियो तर उहाँलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन।
नडराई बोल्ने ब्लगरका छवि बनाएका नभाल्नीलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उहाँका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए।
नभाल्नी जेल परे
सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल पर्नुभएको थियो।
उहाँलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो।
साइबेरियामा भएको स्नायु एजेन्ट आक्रमणमा परेर आपत्कालिन उपचार गराइरहेको थाहा हुँदाहुँदै उहाँमाथि यस्तो आरोप लगाइनु हास्यास्पद भएको उहाँका वकिलहरूले बताउनुभएको थियो।
उहाँले आफू लामो समयसम्म कोमामा रहेकोबारे अदालतलाई पनि जानकारी गराउनुभएको थियो। नभाल्नीले आफूलाई विष दिइनुअघि हरेक महिना दुई पटकसम्म प्रहरीलाई जानकारी दिएको दाबी गनुभएको छ। उहाँले आफूलाई चुप लगाउन आफूविरुद्ध ठगीको आरोप लगाइएको दाबी गर्दै आउनुभएको थियो।
उहाँलाई त्यसअघि एउटा अनियमितताको आरोपमा सन् २०१४ मा दोषी ठहर गरिएको थियो। तर उहाँलाई सुनाइएको सजाय पनि विवादित बनेको थियो।


















