काठमाडौँ, ५ फागुन । अर्थमन्त्री डा.प्रकाश शरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ ।
आज चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरू लघुवित्तमा सहभागी रहेको उल्लेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताउनुभयो ।
अहिले केहि प्रवृत्तिहरूले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उहाँको भनाइ छ । अर्थमन्त्री डा.महतले भन्नुभयो, ‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरू लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ । ’
गरिब र विपन्नलाई ध्यानमा राखेर आम जनताका मुद्दाहरू टुङ्ग्याइनुपर्ने उहाँको भनाइ छ । अर्बौँ कर्जा प्रवाह गर्ने सरकारको सामर्थ्य नहेरेको उल्लेख गर्दै अर्थमन्त्री महतले बेलैमा सबैले सचेत भएर दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।