Prakash Adhikari February 19, 2024
गोदावरी(ललितपुर), ७फागुन । आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा  नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदै छ ।
महासमितिमा २ हजार १ सय ५ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
सम्मेलनस्थल ललितपुर गोदावरीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
“वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु १  सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने छ,” विभाग प्रमुख विश्वकर्माले भन्नुभयो ।
पार्टी सभापति शेरबहादुर देउवाले बैठकको उद्घाटन अपराह्न १ बजे गर्नुहुने कार्यक्रम रहेको छ ।
बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीतिसम्बन्धी प्रस्ताव, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक अवस्था, संभावना र भावि दिशा सम्बन्धी प्रतिवेदन पेश गर्नुहुने  छ भने पार्टीका लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुहुने बताइएको छ ।
यस पटकको महासमितिमा नेपाली कांग्रेसले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने प्रस्ताव पारित गर्ने संभावना रहेको छ । यो प्रस्ताव पार्टीको केन्द्रीय समितिले नभई प्रतिनिधिहरुले राख्ने छन् । नेपाली कांग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा उभ्याउन अघिल्लो महासमितिदेखि नै नेतृत्व गर्दै आउनुभएका पूर्वमन्त्री, सांसद एवम् केन्द्रीय सदस्य शंकर भण्डारीले यसपटक पनि यो अभियानको नेतृत्व गर्नुभएको छ। गत शनिवार बानेश्वर ब्यांक्वेटमा यस अभियानका पक्षधरहरुले सनातन हिन्दुराष्ट्र नेपाल अभियानको घोषणा सभा राखेका थिए । सो सभामा नेपाली कांग्रेसका सबै गुटका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Share Now