गोदावरी(ललितपुर), ८ फागुन । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्था अनुकूल हुँदै गए पनि अझै धेरै चुनौतीहरु विद्यमान रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको गोदावरीमा जारी बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशा’ विषयक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले देशको अर्थतन्त्र ‘समस्या मुक्त भइनसकेको’ उल्लेख गर्नुभएको छ । आर्थिक परिसूचक अनुकूल भए पनि राजश्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको उहाँको अनुभव छ।
“अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक कृयाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो,” डा.महतले आफ्नो प्रतिवेदनमा भन्नुभएको छ ।
प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारी बिना बजेट प्रस्ताव ल्याउने कार्य पनि प्रमुख कारक भएको उल्लेख गर्नुभएको छ ।
सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौतीहरू रहेको उल्लेख गर्दै उहाँले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको बताउनुभयो ।
“अनावश्यक देखिएको संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ,” उहाँले भन्नुभयो, “वैदेशिक सहायताको उपयोग क्षमता कमजोर हुनुले उपयोग विनियोजनको औसत ५० प्रतिशत जतिमात्र रहेको छ ।”
अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारका संभावनाका क्षेत्रहरूमा जलविद्युत् आयोजना, कृषिको व्यवसायीकरण, पर्यटन, सूचना प्रविधिको क्षेत्र औँल्याउनुभएको छ ।
अर्थमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गर्नुभएको छ ।
उहाँ नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टिच्युसन’ गठन प्रकृया अघि बढिसकेको जानकारी दिंदै सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा परेको बताउनुभयो ।
“सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो । यस क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौतीपूर्ण भएको छ,” पार्टी प्रवक्ता डा.महतले भन्नुभएको छ, “सहकारी क्षेत्रको नियामक निकाय गठन प्रकृया अघि बढाइएको छ । यस निकायले कार्यारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ ।”
प्रतिवेदनको पूर्णपाठको लागि तल क्लिक गर्नुहोलाः


















