Prakash Adhikari February 21, 2024

काठमाडौं, ९ फागुन (बीबीसीबाट)। दक्षिण कोरियाले विशेष सीप भएका विदेशी दक्ष कामदारहरूलाई लाने गरेको ई(सेभन भिसाबाट नेपालीहरूलाई पनि पठाउन पहल भइरहेको अधिकारीहरूले बताएका छन्।

यस्तो भिसामार्फत् लगिने नेपाली कामदारहरूका लागि कोरियाली कामदारसरह ३,००० डलर (झन्डै चार लाख नेपाली रुपैयाँ)मासिक तलब हुनुपर्ने प्रस्ताव नेपालले राखेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताउनुभयो।

यस्तो भिसामा जाने कामदारहरूले निश्चित प्रक्रिया पूरा गरेपछि परिवार पनि दक्षिण कोरिया लैजान पाउने र त्यहाँ लामो समयसम्म बस्न पाउने सुविधा पाउँछन्।

दक्षिण कोरियाले त्यहाँका व्यावसायिक तथा औद्योगिक क्षेत्रका लागि आवश्यक विशेष सीप भएका कामदारहरूलाई यस्तो भिसा दिने गरेको छ।

“अहिले २ हजार ५ सय जना दक्ष कामदारका लागि नेपाली दूतावासमा आएको माग मन्त्रालयमा आइपुगेको छ। कामदारका लागि न्यूनतम सुविधा र सकेसम्म कम लागत हुने सुनिश्चितता गरेर हामीले यो प्रक्रियामार्फत् नेपाली कामदार जाने बाटो खोल्न काम गरिरहेका छौँ,” प्रवक्ता पोखरेलले  भन्नुभयो।

कोरियाले ईपीएस प्रणालीमार्फत् कामदार लगिरहेका नेपालजस्तै अन्य १५ देशबाट ईसेभन भिसामा पनि दक्ष कामदारहरू लैजान सुरु गरिसकेको छ।

नेपालले भने यसअघि कामदार पठाइरहेको ईपीएसजस्तै दुवै देशका सरकारबीचको सम्झौताबाट कामदार पठाउने प्रस्ताव गरेका कारण ढिलो भएको बताइएको छ।

जाने प्रक्रिया के हुन्छ ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले दक्षिण कोरियाली मापदण्डको तलब सुविधा हुने सुनिश्चित गरेर निजी स्तरबाट भए पनि पठाउन निर्देशन दिएपछि प्रक्रिया अघि बढिरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

“यस्तो भिसामा बीटूबी (निजी क्षेत्रबीचको साझेदारी) मोडलबाट मात्रै कामदार लैजान सकिने भन्ने कोरियाली पक्षको कुरा आएपछि हामीले श्रमिकलाई बढी भार नपरोस् भन्नेतर्फ पहल गरिरहेका छौँ,” पोखरेलले भन्नुभयो।

यस्तो भिसा लिएर जाने नेपालीहरू ईपीएसजस्तो सरकारी प्रक्रियामार्फत् नभई म्यानपावर व्यवसायीहरूका माध्यमबाट जानुपर्ने र त्यसका लागि कामदारले गर्ने खर्च दुई लाख रुपैयाँभन्दा कममै सीमित गर्न पहल भइरहेको पोखरेल बताउनुहुन्छ।

निश्चित सीप भएका कामदारहरूलाई नेपालमै आएर उनीहरूको अनुभव वा सीप परीक्षणका आधारमा लैजाने विषयमा दक्षिण कोरिया सकारात्मक देखिएको बताइएको छ।

“जस्तो कोरियाको हुन्डाई कम्पनीका लागि दक्ष कामदार चाहियो भने ती कम्पनीका प्रतिनिधि नै नेपाल आएर सीप परीक्षा लिन्छन् र उत्तीर्ण भएकाहरूलाई छनोट गर्छन्”, कामदार लैजाने विधिबारे पोखरेलले भन्नुभयो।

ईपीएसभन्दा फरक

दक्षिण कोरियामा इलेक्ट्रोनिक, मेकानिकल, पेन्टिङ, केअरगिभर, होटल तथा रेस्टुराँजस्ता क्षेत्रमा विशेष सीप भएका नेपाली कामदारहरू पठाउन सकिने मन्त्रालयको पूर्वानुमान छ।

“अहिले दक्षिण कोरियाले विश्वभरिबाट पानीजहाज बनाउने कामको ठेक्का लिइरहेका कारण नेपाली कामदारहरुको माग पनि सीप बिल्डिङका लागि वेल्डिङजस्ता काममा माग आएको छ। पछि अन्य क्षेत्रमा पनि हामीले कामदार पठाउन सक्ने देखेका छौँ “, पोखरेलले भन्नुभयो।

अहिले नेपाली कामदारहरू ईपीएस प्रणालीबाट कोरियाको साना तथा मझौला उद्योगहरूमा काम गर्न जाने गरेका छन्। यस्तो कामका लागि नेपालीहरूले ई-नाइन भिसा पाउने गरेका छन्। त्यो प्रकारको भिसा लिएर जाने नेपालीहरूले पनि निश्चित समयपछि आफ्नो भिसा परिवर्तित गरेर ई सेभन बनाउन सक्छन्।

ई-सेभन भिसा लिएर जाने नेपालीहरूले भने ठूला उद्योग र व्यावसायिक घरानाहरूमा काम पाउने मन्त्रालयले जनाएको छ।

कामदारलाई फाइदा

दक्षिण कोरियाले बर्सेनि १० हजार भन्दाबढी नेपाली कामदार ई-सेभन भिसामार्फत् लैजान सकिने सङ्केत दिएको पोखरेलले बताउनुभयो।

धेरैजसोलाई दिइने ई-सेभन भिसाको अवधि तीन वर्षको र केहीलाई पाँच वर्षसम्म हुन सक्छ। यस्तो भिसा लिएका कामदारहरूको करार अवधि पनि सहजै थप हुने र कामदारले चाहेसम दक्षिण कोरियामै बस्न पाउने बताइएको छ।

ईसेभन भिसा पनि चार प्रकारका हुने कोरियाली विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ।

  • ई-सेभन वनस् डेभलपर, सेल्स र जनसम्पर्कका क्षेत्रमा काम गर्नेहरूलाई दिइन्छ
  • त्यस्तै ई-सेभन टूस् शेफ, कुक र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाई दिइन्छ
  • ई-सेभन थ्रीस् वेल्डिङ र पेन्टिङका क्षेत्रमा सीप भएकाहरूले पाउँछन्
  • ई-सेभन फोरः निर्माण र उत्पादनका क्षेत्रमा विशेष सीप भएका कामदारहरूलाई दिइन्छ

यस्तो भिसा लिएर जानेहरूको मासिक तलब न्यूनतम २७ लाख कोरियन वोन अर्थात् २ लाख ६०,००० रुपैयाँ भन्दा बढी हुने कोरियाली निकायहरूको वेबसाइटमा उल्लेख छ। तर नेपालको श्रम मन्त्रालयले भने पारिश्रमिक ४ लाख रुपैयाँजति हुने जनाएको छ।

परिवारका सदस्य पनि लैजान पाइने

यस्तो भिसामा जानेहरूले आफ्नो परिवारका सदस्यलाई पनि कोरिया लैजाने सुविधा पाउँछन्।

कोरियाको विदेश मन्त्रालयका अनुसार ई-सेभन भिसा भएका कामदारहरूले पति वा पत्नी र छोराछोरीलाई डिपेन्डन्ट भिसामा दक्षिण कोरिया लैजान सक्छन्।

“यसमा कोरियाली कामदारसरह तलब र ओभरटाइमको सुविधाका साथै परिवार लैजान पाउने पनि सुविधा हुन्छ”, मन्त्रालयका प्रवक्ता पोखरेलले भन्नुभयो।

यसअघि नै अन्य भिसामा गएका नेपालीहरूले पनि ई-सेभन भिसा लिएर काम गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउनुभयो।

“निश्चित मापदण्ड पुगेका नेपाली कामदारहरूले ईपीएसबाट गएर पनि यस्तो भिसामा रूपान्तरण गर्छन्। यस्तो भिसा भएकालाई राम्रो काम, थप पारिश्रमिक अनि परिवार लैजाने सुविधा हुने रहेछ,” घिमिरेले भन्नुभयो।

कसले पाउन सक्छन् यस्तो भिसा

दक्षिण कोरियामा हाल लक्षिणपूर्वी एशियाका बाङ्ग्लादेश, फिलिपिन्स लगायतका देशहरूबाट ई(सेभन भिसामा कामदारहरू गइरहेको बताइएको छ।

नेपालबाट ई-सेभन भिसामार्फत् कामदार लैजानका लागि गरिएको माग स्वीकृत नभए फिलिपिन्स लगायतका देशबाट त्यस्ता कामदार लैजाने कोरियाली पक्षको भनाइ रहेको पोखरेलले बताउनुभयो।

“मेहनती र इमान्दार भएका कारण कोरियाली रोजगारदाताहरूले नेपाली कामदार नै मन पराएको देखिन्छ”,उहाँले भन्नुभयो।

सन् २०२३ का लागि दक्ष कामदारहरूका लागि दिइने ई(सेभन भिसाबाट १२ हजार जना लगेको विभिन्न विवरणहरूमा उल्लेख छ।

दक्षिण कोरियाको अर्थ मन्त्रालयले ज्यानुअरी ४ मा सार्वजनिक गरेको सन् २०२४ को आर्थिक नीतिसम्बन्धी निर्देशिकामा यो वर्ष कोरियाले गत वर्षभन्दा थप एक लाख विदेशी कामदारहरू लैजाने उल्लेख छ।

गत महिना विदेशी कामदारहरूलाई तलबमा शोषण भएको र श्रमसम्बन्धी असमान अभ्यास भएको दक्षिण कोरियामा काम गर्ने केही विदेशी कामदार र दक्षिण कोरियाली अभियानकर्मीहरूले राष्ट्रिय मानव अधिकार आयोगअगाडि पत्रकार सम्मेलन गरेका थिए

भिसा फेर्न पाइने सुविधा

सन् २०२३ मा दक्षिण कोरियाले विभिन्न क्षेत्रमा एक लाख ७० हजार विदेशी कामदार लगेको थियो। यो वर्ष त्यसरी लगिने कामदारको सङ्ख्या २ लाख ६० हजार पुर्‍याइने उक्त नीतिमा उल्लेख छ।

नेपालसहित १६ वटा देशबाट कोरियाले ईपीएस प्रणालीबाट साना तथा मझौला उद्योग र कृषि क्षेत्रमा कामदार लाने गरेको छ।

उनीहरूलाई ई-नाइन भिसा दिइने गरिएको विभागका महानिर्देशक घिमिरेले बताउनुभये।

उहाँका अनुसार यस्तो भिसामा कोरिया गएका नेपाली कामदारहरूले पनि निश्चित समय काम गरेपछि आफ्नो भिसालाई ई-सेभनमा रूपान्तरण गर्न सक्छन्।

कोरियाली सरकारका निकायहरूमा उल्लिखित विवरणहरूका नुसार ई-नाइन भिसामा पाँच वर्ष वा त्यसभन्दा बढी समय कोरिया बसेका कामदारहरू ई-सेभन भिसाको आवेदनका लागि योग्य हुन्छन्।

त्यस्तै कोरियामा उच्च शिक्षा अध्ययनका लागि पुगेका विदेशीहरूले पनि अध्ययन पूरा गरेपछि ई-सेभन भिसाको लागि आवेदन दिन सक्छन्।

कामदारको बढ्दो माग

त्यहाँको सरकारले पछिल्लो समय देखिएको दक्ष कामदार अभावको समस्या सम्बोधनका लागि यसको मापदण्ड अझै खुकुलो बनाउने तयारी गरिरहेको विवरण आएका छन्।

ब्याङ्क अफ कोरियाको एक प्रतिवेदनलाई उद्धृत गर्दै कोरिया इकोनमिक डेलीमा प्रकाशित एक समाचारअनुसार आगामी १० वर्षमा कोरियामा करिब २ लाख ४० हजार दक्ष कामदारले उमेरका कारण अवकाश पाउँदा कामदारहरूको ठूलो माग हुने छ।

दक्षिण कोरियाको कुल जनसङ्ख्याको आधा मानिस सन् २०७० मा ६५ वर्ष वा त्यसभन्दा धेरै उमेरका हुने प्रक्षेपण गरिएको छ।

Share Now