Prakash Adhikari February 22, 2024

 

किएभ (युक्रेन), १० फागुन (बीबीसी) । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएको विवरणमा जनाइएको छ।

घटनाबारे जानकार स्रोतहरूले बीबीसीलाई बताएअनुसार एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि दोनेत्स्क क्षेत्रमा सैनिकहरू भेला भएका थिए।

ठूलो सङ्ख्यामा हताहती भएको उक्त घटनासम्बन्धी भिडिओ फुटेजमा देखिन्छ।

बीबीसीले त्यसको आधिकारिकता पुष्टि गर्ने प्रयास गरिरहेको छ। एकजना रुसी अधिकारीले हमला गरिएको पुष्टि गरेका छन्।

युक्रेनले अमेरिकामा निर्मित हाइमार्स क्षेप्यास्त्र प्रहार गरेको ठानिएको छ। तर युक्रेनी अधिकारीहरूको तर्फबाट अहिलेसम्म त्यसबारे कुनै टिप्पणी गरिएको छैन।

बाँच्न सफल सैनिकको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सेर्गेई शोइगुसँग बैठक गरेको केही घण्टापछि घटना भएको बताइएको छ।

बैठकका क्रममा शोइगुले धेरै क्षेत्रको अग्रपङ्क्तिमा रुसले सफलता हासिल गरिरहेको दाबी गर्दै पछिल्लो समय एभ्डीभ्का नगरमाथि गरिएको कब्जाबारे उल्लेख गर्नुभयो।

तर दोनेत्स्कमा भएको घटनाबारे उहाँले केही उल्लेख गर्नुभएन।

घटनामा बाँच्न सफल एक सैनिकका अनुसार मेजर जेनरल ओलेग मोइसिएफको स्वागतका लागि सैनिक जवानहरूलाई ब्रिगेड कमान्डरहरूले खुला मैदानमा उभिन लगाउनुभएको थियो।

उनीहरूलाई दुईवटा क्षेप्यास्त्रले निशाना बनाइएको बताइएको छ।

सो क्षेत्रका गभर्नर एलेक्सान्डर ओसिपोभले घुमाउरो तरिकाले घटनाको पुष्टि गर्नुभएको छ।

तर त्यसबारे आएका विवरणहरूलाई ओसिपोभले उहाँकै शब्दमा तथ्यमा आधारित नभएको र बढाइचढाइ गरिएको दाबी गर्नुभएको छ।

Share Now