काठमाडौं, १० फागुन । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।
बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेट खेलाडी लामिछानेलाई गत पुस २५ गते आठ वर्ष कैद, रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको थियो ।
गत पुस १३ गते गौशाला–२६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने उक्त अदालतले निर्णय गरेको थियो ।
बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए ।
सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको ८ वर्ष कैद सजायमध्ये ३ महिना ८ दिन उनी यसअघि मुद्दाको पुर्पक्षका लागि नै जेलमा बसिसकेका छन् ।
अब उनले कैदमा बस्नुपर्ने ७ वर्ष ८ महिना २२ दिनको दैनिक ३०० रुपैयाँका दरले हुन आउने रकम ८ लाख ४५ हजार १०० रुपैयाँ, जिल्ला अदालतले तोकेको ३ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा बुझाउनुपर्ने १२ हजार रुपैयाँ र पीडितलाई भराइदिनुपर्ने राहत २ लाख रुपैयाँ गरी १३ लाख ५७ हजार १०० रुपैयाँ अदालतलाई बुझाउनुपर्ने थियो ।
सन्दीपले यसअघि नै काठमाडौं जिल्ला अदालतमा धरौटीबापत २० लाख रुपैयाँ बुझाइसकेकाले अदालतले अहिले उनीसँग थप रकम लिएको छैन ।
उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी आज पुनरावेदन मुद्दा दर्ता भएको हो । लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको हो ।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई गत वर्ष असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
–––


















