कीर्तिपुर(काठमाडौं ), १६ फागुन । नेपालमा भैरहेको त्रिकोणात्मक टी २० आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिड. रोजेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो ।
खेलमा नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडे ।
त्यसअघि तेस्रो ओभरमा म्याक्स ओ डाउड ४ रन जोड्दै करण केसीको शिकार बने । स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । उनी रनआउट हुन पुगेका थिए ।
साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । तेजा निदमनुरुले अन्तिम बलमा रनआउट हुनुअघि ३१ रन जोडे । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।
नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका थिए । टोलीमा आज दुई परिवर्तन भएको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललितनारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् ।
नेदरल्यान्ड्सले टिम भान डर गुग्टेनलाई सिधै टि २० टोलीमा राखेको छ । उनी ओडीआई टोलीमा थिएनन् ।
नेपालको टोली
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रतिश जिसी ।
नेदरल्यान्ड्सको टोली
म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, वेस्ली बरेसी, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन ।