Prakash Adhikari March 1, 2024

 

भरतपुर(चितवन),१८ फागुन । आज भरतपुर भ्रमण वर्ष २०२४ को शुभारम्भ हुने भएको छ । भ्रमण बर्षको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने कार्यक्रम रहेको छ ।

समुद्घाटन कार्यक्रमको लागि प्रधानमन्त्री दाहाल हिजो बिहिबार नै चितवन आइसक्नुभएको छ ।

कार्यक्रमको समुद्घाटन दिउँसो १ बजे नारायणी किनारमा हुने भएको छ । औपचारिक उद्घाटन पूर्व भरतपुरका विभिन्न बडाहरुबाट झाँकीहरुसहितको र्याली नारायणगढ बजार हुँदै कार्यक्रमस्थल जाने कार्यतालिका रहेको छ । उद्घाटन समारोहमा नारायणी किनारमा ५० हजार जना सहभागी गराउने गरी वडागत रुपमा तयारी भईरहेको छ ।

नेपालमा आउने विदेशी पर्यटकहरुले अधिक भ्रमण गर्ने गोल्डन ट्याड.गल मध्येको चितवन राष्ट्रिय निकुञ्जको मुख्य भाग समेटेको भरतपुर नगरपालिकामा चितवनतर्फको देवघाट जस्तो पवित्र पूण्यभूमि, नारायणगढको हरिहर मन्दीर, बिसहजारी ताल जस्ता दर्शनीय स्थान रहेका छन् । नारायणी र राप्ती नदीको नौका विहार, नारायणीको क्रुजशीपको जलयात्रा, हात्ती सफारी जस्ता साहसी पर्यटकीय क्रियाकलापको मज्जा लिन पाइन्छ । चितवनको नारायणगढ,भरतपुर र मेघौली अनि सौराहामा पर्यटकीय स्तरमा होटल भएकोले खान र बसोबासको उचित सुविधा रहेको छ ।

महानगर प्रमुख दाहालले भ्रमण वर्षलाई सफल बनाउन सबैको हातेमालो अवश्यक रहेकाले यसमा सबैले अपन्त्व लिनुपर्ने बताउनुभएको छ । उहाँले देशका भईरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निरासालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को अभियानमा कुल ३ करोड ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये नेपाल पर्यटन बोर्डले ७० लाख रुपैयाँ बेहोर्ने छ ।

यससम्बन्धमा महानगरपालिका र बोर्डबीच संझौता भइसकेको छ। सम्झौता पत्रमा  पर्या पर्यटन तथा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्याशाला, ब्रसोर, स्टीकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रर्वद्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने उल्लेख छ ।

यो संझौतामा  भरतपुर भ्रमण वर्षमा राष्ट्रिय तथा अन्र्तराष्ट्रि रुपमा प्रचार गर्न विदेशी पत्रकारलाई नेपालमा ल्याउने कार्यक्रम तय भएको छ ।

 

Share Now