Prakash Adhikari March 1, 2024
कर्णाली, १८ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रविधिको विकासबाट मात्र कर्णालीलाई माथि उठाउन सकिने बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा आजदेखि सुर्खेतमा सुरु भएको दुईदिने ‘डिजिटल कर्णाली कन्क्लेभ’को शुभारम्भ गर्दै उहाँले कर्णालीको समग्र विकासलाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीको भूबनोट, यहाँको विकासलाई ध्यान दिएर प्रविधिको विकास नगरी अहिलेको आवश्यकता पूरा गर्न कठिन छ । यसको उन्नतिका लागि प्रविधिको भरपुर उपयोग गर्नुपर्ने देखिन्छ ।” कर्णालीमा हुने विकासलाई प्रविधिसँग जोड्नुपर्ने चुनौती रहे पनि युगको आवश्यकतालाई बोध गरी कन्क्लेभ आयोजना गरिएको उहाँले बताउनुभयो ।
आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले डिजिटल मार्गचित्र तयार गर्न कन्क्लेभको आयोजना गरिएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशकै एक महत्वपूर्ण मानिएको यो कार्यक्रमले नीति, नियम, सञ्चार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत्, सुशासन, विपद् व्यवस्थापन, अर्थतन्त्र, नेतृत्व, स्टार्टअप र उद्यमीका विषयमा नीतिगत छलफल आजदेखि सुरु भएको जनाउनुभयो ।
आइसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नीति र नेतृत्व, मानव पूँजी, आइसिटी र तथ्याङ्क उद्योग, डिजिटल पूर्वाधार, डिजिटल रुपान्तरण र सुरक्षाको विकास र सुनिश्चितताका लागि प्रविधि सम्मेलन आयोजना  गरिएको बताउनुभयो ।
Share Now