बेलकोटगढी(नुवाकोट), १९ फागुन । अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारीमा केन्द्रीत रहेको बताउनुभएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो कुरा बताउनुभएको हो ।
उहाँले गुणस्तरीय शिक्षा पाएको र समय सुहाउदो सीप भएको व्यक्ति जहा गएर पनि कमाएर बस्न सक्ने भएकोले सरकारले यी दुई विषयलाई उच्च प्राथमिकतामा रोको बताउनुभएको हो ।
‘सम्पत्ति त क्षति हुनसक्छ, तर पढेको कुरा कसैले खोस्न सक्दैन। सिप छ, पढाइलेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ। रोजगारी प्राप्त गर्न सकिन्छ। त्यसकारण पढाइलाई प्राथमिकता राख्न म अभिभावकहरुसँग अनुरोध गर्छु’ उहाँले भन्नुभयो ।
बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन मन्त्री डा. महतले अभिभावकहरुसँग अनुरोध गर्नुभयो।
‘शिक्षा भयो भने थोरै सम्पत्ति छ भने पनि डर हुँदैन। पढेको, सिप सिकेका मान्छे जहाँ पनि रोजगार हुन्छ। नयाँ पिढींलाई शिक्षा अनिवार्यरुपमा दिनुपर्छ’ कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो।
अर्थमन्त्री डा. महतले देशमा विकासको अभियानले गति लिन सुरु गरेको पनि दावी गर्नुभयो। देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न थालेको उहाँको कथन छ ।
‘सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ। यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ। नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं,’ उहाँले भन्नुभयो।
विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनासकारी भूकम्प, कोरोना रोगको संक्रमण लगायतका कारणले पछि परेको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह सुरु भएको उहाँको दावी छ।
‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ। पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’, अर्थमन्त्री डा। महतले भन्नुभयो, ‘आत्मविश्वास जगाऔं, विचार पुर्याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ। उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ। राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ। बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ।’


















