Prakash Adhikari March 3, 2024

सल्लेरी (सोलुखुम्बु), २० फागुनः सोलुखुम्बुको स्याङ्बोचेमा जलवायु परिर्वतन र त्यसले स्थानीयमा पारेको असरसम्बन्धी सरोकारवालापक्षसँग अन्तरक्रिया गरिएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रका महिला, बालबालिकासहितको जनजीवनमा पारेको प्रभावबारे विज्ञसहितको टोलीले आज प्रत्यक्ष अन्तरसंवाद गरेको हो ।

जलवायु न्यायका लागि विश्व समुदायको ध्यानार्कषण गराउन विभिन्न क्षेत्रका अगुवा महिलासहितको टोली सगरमाथाको कालापत्थर जाने क्रममा तीन हजार आठ सय ८१ मिटरको उचाइमा अवस्थित स्याङ्बोचेमा विशेष अन्तरसंवाद कार्यक्रम भएको हो ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकासँगको सहकार्यमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेसनद्वारा आयोजित कार्यक्रमका सहमभागीले जलवायु न्यायका लागि सरकारले ठोस कार्यक्रम अघि सार्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले लुक्ला हुँदै सगरमाथा क्षेत्रमा जारी पदयात्राबाट जलवायु परिर्वतनका गम्भीर असर देखिएको र त्यसमा महिला समुदाय बढी पीडित भएको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका हिमाल काला हुँदै गएको हाम्रै आँखा अघि छर्लङ्ग देख्यौँ, पानीको मुहान क्रमशः सुक्दै गएका रहेछन्, कृषि उब्जनीमा व्यापक कमी देखियो । त्यसले महिला र बालबालिकाको जनजीवनलाई कष्टकर बनाएको छ ।”

अध्यक्ष कार्कीले यतिबेला प्रकृतिलाई समेत न्याय चाहिएको र त्यसका लागि जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय समुदायबीच हातेमालो गर्दै सरकारले काम गर्नुपर्ने सुझाव दिनुभयो । यही विषयलाई गम्भीरताका साथ उठाउन यही फागुन २५ गते नारी दिवसका अवसरमा साथसाथैको टोली कालापत्थर यात्रामा निस्किएको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मधेस आयोगकी सदस्य रेणुदेवी शाह, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मिलन देवकोटा, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा विराजसिंह थापा, नेपाल चिकित्सक सङ्घका महासचिव डा सञ्जीव तिवारीसहितले स्थानीयमा परेको जलवायु परिवर्तनको असर र त्यसको उचित समाधानका लागि आगामी दिनमा चाल्नुपर्ने विभिन्न सुझाव दिनुभयो ।

टोलीलाई खुम्बु पासाङ ल्हामु गाउँ कार्यपालिका सदस्य ङिमा याङजी शेर्पा, खुम्जुङ महिला समूहकी उपाध्यक्ष ल्हाक्पा डोमा शेर्पासहितका स्थानीय महिला अगुवाले जलवायु परिवर्तनका कारण आफूहरुले भोग्नुपरेको समस्या सुनाउनुभएको थियो ।

कार्यक्रममा सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश अवानी मैनाली भट्टराई, शिक्षाविद् दुर्गा भट्टराई, मिस नेपाल सुभेच्छा प्रधान, गैरआवसीय नेपाली सङ्घकी उपाध्यक्ष रोजिना प्रधान राई, नेपाल एयरलाइन्सका विमानचालक लिभर्टी भण्डारीलगायतले पदयात्राका क्रममा हिमाली भेगमा देखिएको जलवायु परिवर्तनका असरबारे अनुभव सुनाउनुभयो ।

नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल¬(टान), नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, ट्रष्ट माइक्रो इन्स्युरेन्ससहितको सहकार्यमा सुरु कालापत्थर पदयात्रा मार्च ८ तारिख टुङ्गिने आयोजक संस्थाका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

केही महिनाअघि मात्रै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस जलवायु परिवर्तनको असर प्रत्यक्ष अवलोकलन गर्न भन्दै स्याङ्बोचेमा आउनुभएको थियो ।

Share Now