बर्लिन(जर्मनी), २१ फागुन (बीबीसी) ।जर्मनीले आफ्ना अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने र सम्भावित निशानाहरूबारे छलफल गरिरहेको एउटा सैन्य बैठक रुसको ह्याकिङमा परेको स्वीकार गरेको छ।
उक्त भिडिओ कन्फ्रेन्स बैठकको अडियो रुसको सरकारी च्यानल आरटीकी प्रमुखले सामाजिक सञ्जालमा पोष्ट गरिदिनुभएको छ।
अधिकारीहरूले गैरकानुनी रूपमा गाभिएको क्राइमिया र रुसलाई जोड्ने केर्च पूललाई कसरी ती क्षेप्यास्त्रहरूले निशाना बनाउन सक्छन् भनेर छलफल गरिरहेका थिए।
रुसी नेताहरूले उक्त अडिओले ‘सधैँ घृणा गरिरहने शत्रु’ ले आक्रमणको योजना बुनिरहेको प्रमाणित गरेको उल्लेख गरेका छन्।
जर्मनी के भन्छ ?
जर्मनीका चान्सलर ओलाफ सोल्ट्सले चुहावट जस्तो देखिने उक्त घटना ‘ज्यादै गम्भीर भएकाले सावधानीपूर्वक, गहन र ज्यादै द्रुत ढङ्गले अनुसन्धान’ अघि बढाइएको बताउनुभएको छ।
डेर स्पीगल म्यागजिनका अनुसार उक्त भिडियो कन्फ्रेन्स कुनै गोप्य आन्तरिक सैन्य नेटवर्कमा नभई वेबएक्सको प्ल्याटफर्ममा आयोजना गरिएको थियो।
उक्त ३८ मिनेट लामो अडिओ आरटीकी प्रमुख मार्गरिटा सिमोनियानले शुक्रवार सार्वजनिक गर्नुभएको थियो। उहाँले त्यो क्राइमियामा जर्मनीले हमला गर्ने योजना बुनिरहेको प्रमाण भएको उल्लेख गर्नुभएको थियो।
उक्त रेकर्डिङमा युक्रेनी फौजहरूले जर्मनीमा बनेको टोरस क्षेप्यास्त्रहरूको प्रयोग गर्ने सम्भावना र त्यसको सम्भावित असरबारे छलफल गरिरहेको सुन्न सकिन्छ।
जर्मनीको रक्षा मन्त्रालयकी एक जना प्रवक्ताले एएफपी समाचार संस्थालाई वायु सेनाको गोप्य कुराकानी टेप गरिएको बताउनुभयो।
उहाँले त्यसलाई सार्वजनिक गर्नुअघि अनधिकृत हेरफेर गरिएको छ कि छैन भन्ने कुरा आफूले ‘यकिन रूपमा भन्न नसक्ने’ जनाउनुभयो।
मस्कोले माग्यो जवाफ
रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोवाले जर्मनीले तुरुन्तै स्पष्टीकरण दिनुपर्ने माग गर्नुभएको छ।
“प्रश्नको जवाफ दिन नखोज्ने प्रयासलाई दोष स्वीकार गरेको अर्थमा लिइनेछ,”उहाँले भन्नुभयो।
रुसको सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेडभेडेबले टेलिग्राममा भन्नुभएको छ, “हाम्रो वर्षौँ देखिको प्रतिद्वन्द्वी जर्मनी फेरी एक पटक हाम्रो कट्टर शत्रु बनेको छ।”
“हेर्नुहोस् त उनीहरूले कति विस्तृतमा हाम्रो भूभागमा लामो दुरीका क्षेप्यास्त्रबाट हमला गर्नेबारे छलफल गरेका छन्। आक्रमण गर्ने निशना र कसरी हाम्रो मातृभूमि र हाम्रा जनतालाई अधिकतम क्षति पुर्याउने भन्नेबारे उनीहरूले छलफल गरेका छन्।”
टोरस क्षेप्यास्त्र प्रणाली जर्मनी, स्पेन र दक्षिण कोरियाले प्रयोग गर्छन्।
रुसका विदेश मन्त्री सर्गेइ लावरोभले शनिवार उक्त छलफलले जर्मनीका सशस्त्र बलको ‘धूर्त योजना’ लाई विफल बनाएको र उनीहरूलाई ‘नराम्रोसँग स्वयं नङ्ग्याइदिएको’ प्रतिक्रिया दिनुभएको छ।
यो घटनाले उठाएका प्रश्न
झन्डै ५०० किलोमिटरसम्मको क्षेत्रमा प्रहार गर्नसक्ने टोरस क्षेप्यस्त्र आफूलाई जर्मनीले उपलब्ध गराओस् भन्ने किएभको चाहाना छ।
उक्त कदमले द्वन्द्व चर्काउनसक्ने भन्दै अहिलेसम्म सोल्ट्जले त्यसलाई अस्वीकार गर्दै आएका छन्।
फ्रान्स र ब्रिटेन दुवैले युक्रेनलाई स्काल्प नामक क्षेप्यास्त्र उपलब्ध गराएका छन् जसले टोरस पुग्नसक्ने भन्दा आधा दूरीमा निशाना लगाउन सक्छ।
जर्मनीको विपक्षी कन्जरभेटिभ समूहका एक जना नेता रोडरिक किजवेटरले थप रिकर्डिङहरू पनि चुहिनसक्ने बताउनुभयो।
“निश्चित रूपमा अन्य कुराकानीहरू पनि इन्टरसेप्ट गरिएको हुनसक्छ र त्यसलाई रुसलाई फाइदा हुने गरी पछिको मितिमा सार्वजनिक गरिनसक्छ,” उहाँले जेडडीएफ नामक एउटा प्रसारकसँग भन्नुभएको छ।
उहाँले ‘जमर्नीबाट हुने टोरसको आपूर्ति रोक्नका लागि’ रुसले योजनाबद्ध ढङ्गले उक्त कुराकानीलाई अहिले बाहिर ल्याइदिएको ठान्न सकिने बताउनुभयो।
बीबीसीका डेनी एबरहार्ड भन्नुहुन्छ गोप्य सैनिक छलफल चुहिनुले बर्लिनलाई ज्यादै असजिलोमा पारिदिएको छ। यो कदमले उसलाई क्षति समेत पुर्याउनसक्ने अवस्था छ।
त्यसबाहेक कसरी त्यो छलफल चुहियो वा के त्यो अझ वृहत् सुरक्षा कमजोरीको एउटा अंश मात्रै हो भन्ने जस्ता प्रश्नहरू पनि उठेका छन्। यसले युक्रेनका साझेदारहरू कति नजिकबाट युद्ध प्रयासमा संलग्न छन् भन्ने कुरालाई पनि बाहिर ल्याएको छ।


















