Prakash Adhikari March 6, 2024

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।

पत्नी आरजु र नेता रमेश लेखकसहित नेपालको निवास पुग्नुभएका देउवाले देशको राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुहुने बताइएको छ ।

नेकपा एमालेका अध्यक्ष के.पी.ओलीको राजनीतिक तारो बन्दै आउनुभएका अध्यक्ष नेपालले एमालेबाट अलग्गिएर नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) बनाउनुभएको हो । नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेससहितको गठबन्धन सरकारमा सामेल थियो ।

तर प्रधानमन्त्री प्रचण्डले फागुन २० गते एकाएक नयाँ सत्ता गठबन्धन गरेपछि कांग्रेससंगै समाजवादी पनि सरकारबाट बाहिरिएको छ ।

संसदमा १० सीट भएको नेकपा समाजवादीलाई आफूतिर तानेर सरकारलाई बलियो बनाउन नयाँ गठबन्धनका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष के.पी.शर्मा ओली र रवि लामिछानेले हिजै अध्यक्ष नेपाललाई भेट गर्नुभएको थियो ।

नेकपा एकीकृत समाजवादीले आज सचिवालयको बैठक बसेर आवश्यक निर्णय लिने तयारी गरिरहेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दै छ ।

Share Now