Prakash Adhikari March 6, 2024
|
चितवन, २३ फागुन : चितवनमा यही फागुन २५ देखि १७ गतेसम्म हुने नवौँ फर्मा एक्स्पोबाट यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपाल औषधि उत्पादक सङ्घ (एपोन) ले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरेर एक्स्पोका माध्यमबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको हो ।
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोमा स्वदेशी तथा विदेशी पाहुना आउने बताउँदै यसले यहाँको पर्यटन क्षेत्रमा राम्रो प्रभाव पार्ने बताउनुभयो । भरतपुर भ्रमण वर्ष मनाइरहँदा भएको यो एक्स्पोले केही हदसम्म भए पनि टेवा पुग्ने उहाँको विश्वास छ । उहाँले एक्स्पोकै कारण चितवनका अधिकांश होटलका कोठा सबै ‘बुक’ भएका बताउनुभयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअुनसार एक्स्पोमा विदेशी विज्ञ प्राविधिक, उपकरण उत्पादक, सरकारी प्रतिनिधिलगायतका पाहुनाको उपस्थिति रहने जानकारी दिँदै विदेशीलाई नेपाली औषधि उद्योगको अवलोकन गराइनेछ । आर्थिक वर्ष २०७८÷०७९ नेपालका औषधि उद्योगीले करिब रु ३४ अर्बको औषधिको कारोबार गरेको जानकारी दिँदै आव २०७९÷०८० मा त्यो घटेर  रु २९ अर्ब ३६ करोडमा सीमित भएको छ ।
एक्स्पोमा १६० वटा स्टल राखिने छन् जसमा  भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मनी, चीनलगायत नौ  देशले उत्पादनमा प्रयोग गर्ने उपकरण, प्रयोगशाला उपकरण, कच्चापदार्थ र नेपाली  औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिने छन्  । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ । एक्स्पो २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
Share Now